Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एसईईमा खटिने केन्द्राध्यक्षदेखि कार्यालय सहयोगीसम्मको पारिश्रमिक र भत्ता बढाउन माग

उद्‌घोष संवाददाता
१७ चैत २०८२, मङ्गलवार

विराटनगर । चैत १९ गतेबाट राष्ट्रिय परीक्षा बोर्डले लिने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि खटिने जनशक्तिहरूले पाउने दैनिक पारिश्रमिक तथा भत्ता कम भएको केन्द्राध्यक्षहरूले गुनासो गरेका छन् । 

उनीहरूले शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालमार्फत राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरलाई ज्ञापनपत्र पठाएका छन् । 

मोरङका ६१ जना केन्द्राध्यक्षले सोमबार शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाएका हुन् ।

विगतका वर्षदेखि नै केन्द्राध्यक्षहरूले ध्यानाकर्षण गराए पनि कुनै विषयमा समन्वय नभएको भन्दै उनीहरूले ज्ञापनपत्रमार्फत गुनासो गरेका छन् । 

उनीहरूले महंगी बढेको अवस्थामा पनि कम पारिश्रमिक तथा भत्ता पाउँदा मर्कामा पर्ने भन्दै भविष्यमा परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिकै अभाव हुने चेतावनी दिए ।

तीन घण्टाको परीक्षा अवधिमा समेत केन्द्राध्यक्षको आठ सय रुपैयाँ, सहायक केन्द्राध्यक्षको पाँच सय रुपैयाँ, निरीक्षकको ३५० रुपैयाँ, परीक्षा सहायकको तीन सय रुपैयाँ र कार्यालय सहयोगीको दुई सय रुपैयाँ दैनिक परिश्रमिक तथा भत्ता हुने गरेको छ ।

उनीहरूले पाउने पारिश्रमिक तथा भत्ताबाट १५ प्रतिशत करसमेत काटिने गरेको छ । 

त्यस्तै शौचालय वापत आठ दिनको परीक्षा अवधिका लागि चार सय रुपैयाँ मात्रै पाउने गरेका छन् भने प्रश्नपत्र तथा उत्तरपुस्तिका ढुवानीवापत एक रुपैयाँसमेत नछुट्याएको प्रति आपत्ति जनाएका छन् ।

उनीहरूले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष निरीक्षक, परीक्षा सहायक, कार्यालय सहयोगी लगायतलाई एक दिन बराबरको पारिश्रमिक तथा भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् ।

केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षकको भत्ता एकदिनको तलब बराबरको पाउनुपर्ने उनीहरूको माग छ । 

त्यस्तै परीक्षा सहायकको हकमा एक हजार, कार्यालय सहयोगीले सात सय, स्टेसनरी वापत पाँच हजार, विविधवापत तीन हजार रुपैयाँ उनीहरूले माग गरेका छन्् ।

त्यस्तै शौचालय र सरसफाईवापत चार हजार रुपैयाँ र प्रश्नपत्र तथा उत्तरपुस्तिका ढुवानीवापत पाँच हजारको माग गरेका हुन् ।

नेपाल शिक्षक महासंघका मोरङ अध्यक्ष कुमार पोखरेल, सचिव प्रेमप्रकाश कोइराला, प्रधानाध्यापक संघ कोशीका अध्यक्ष विश्वसिंह राई लगायतले वर्तमान अवस्थामा कम पारिश्रमिक तथा भत्तामा परीक्ष्ाँमा खटिनुपर्ने भए भविष्यमा जनशक्तिको अभाव हुने बताए । 

आगामी वर्ष विद्यमान पारिश्रमिक तथा भत्तामा परीक्षा सञ्चालन गर्न असमर्थ रहेको उनीहरूले जानकारी गराएका छन् ।

ज्ञापनपत्रमार्फत भनिएको छ, ‘समयअनुसार पारिश्रमिक तथा भत्ता परिमार्जन गरी उपलब्ध गराउन नसकिएको खण्डमा परीक्षासम्बन्धी आगामी दिनमा कुनै पनि कार्यक्रम सञ्चालन तथा व्यवस्थपानका लागि सहयोग गर्न तथा खटिन खटाउन असमर्थ रहेको ब्यहोरा अनुरोध छ ।’

त्यसैगरी सोमबार विराटनगरको सत्यनारायण माध्यमिक विद्यायमा मोरङका ६१ वटा परीक्षा केन्द्रमा खटिने केन्द्राध्यक्षहरूलाई एकदिने अभिमुखीकरण सम्पन्न भएको छ । 

केन्द्राध्यक्षहरूलँई सहजीकरण गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङ प्रहरी प्रमुख कवित कटुवाल, राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश प्रमुख प्रकाश खरेल, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहाल लगायतले परीक्षा मर्यादित भयरहीत र शान्त वातावरणमा सम्पन्न गर्न निर्देशनसमेत दिएका छन् ।

View : 196

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved