Biratnagar, Morang, Nepal
२९ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरदेखि रंगेलीसम्म निशान पैदल यात्राको तयारी

उद्‌घोष संवाददाता
२९ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । बडादशैंको अवसरमा विराटनगरदेखि रंगेलीसम्मको निशान (ध्वजा) पैदल यात्राको दशौँ संस्करण नजिकिएको छ । महानवमीका दिन हुने सो यात्रामा विराटनगरसहित झापा र आसपासका विभिन्न क्षेत्रबाट हजारौं भक्तजन सहभागी हुने अनुमान गरिएको यात्रा आयोजक समितिका मनोज अग्रवालले जानकारी दिएका छन् ।

उनका अनुसार विराटनगरस्थित काली मन्दिरबाट बिहान ६ बजे सुरु हुने यात्रा करिब २३ किलोमिटर दूरी पार गर्दै रंगेलीको काली मन्दिरमा पुगेर सम्पन्न हुनेछ । यात्रामा सहभागी भक्तजनले हातमा निशान लिएर पैदल यात्रा गर्नेछन् र रंगेलीस्थित काली मन्दिरमा निशान अर्पण गर्नेछन् ।

छिटो हिंड्ने यात्रुले करिब तीन घण्टामै यात्रा पूरा गर्न सक्नेछन् भने सामान्य गतिमा हिंड्नेहरूलाई कम्तीमा पाँच घण्टा लाग्ने अनुमान गरिएको अग्रवालले बताए ।

विराटनगरसहित झापा तथा आसपासका विभिन्न क्षेत्रबाट भक्तजन यात्रामा सहभागी हुन विराटनगर आउने छन् । यात्रालाई व्यवस्थित र सहज बनाउन मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति गठन गरेको छ ।

उपसमितिहरूमार्फत यात्राको व्यवस्थापन, सहभागीको सहजीकरण तथा आवश्यक व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।

यात्राका क्रममा भक्तजनका लागि विभिन्न स्थानमा विश्राम तथा चिया–पानीको व्यवस्था गरिने जनाइएको छ । 

विराटनगरस्थित जीवन विकासको कार्यालयअगाडि, सेलो मिल, जुडी पुल, रामचोक, दादरबैरियास्थित बसन्त राजवंशीको काँटा, आनन्द इँटाभट्टा दादरबैरिया, किसान अग्रवालको मिल कर्सिया नहर, बेतौना चोकस्थित सन्तोष रौनियारको गोला तथा संसारीमाई लगायतका स्थानलाई विश्रामस्थलका रूपमा निर्धारण गरिएको जनाइएको छ ।

यसपटक करिब आठ हजार निशान (ध्वजा) यात्री र अन्य १० हजार गरी कुल १८ हजार दर्शनार्थी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । यात्रामा सहभागी हुने प्रत्येक व्यक्तिबाट ३०० रुपैयाँ सहयोग संकलन गरिनेछ । 

यात्राको व्यवस्थापनमा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अग्रवालले जानकारी दिए । आवश्यक रकम सहभागीबाट संकलित सहयोग तथा दाताहरूको योगदानबाट जुटाइने उनले बताए ।

यात्रा सम्पन्न भएपछि सहभागी सबैका लागि रंगेलीस्थित काली मन्दिर परिसरमा रहेको धर्मशालामा निःशुल्क प्रसाद वितरणको व्यवस्था गरिने जनाइएको छ ।

धार्मिक आस्था, परम्परा र सांस्कृतिक एकताको प्रतीकका रूपमा आयोजना हुँदै आएको निशान पैदल यात्रामा स्वतस्फूर्त रुपमा सहभागी हुन आयोजक समितिले आग्रह गरेको छ ।

View : 38

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved