विराटनगर । ‘गैंडाछाप’ सिमेन्टको उत्पादनकर्ता उदयपुर सिमेन्ट उद्योगका मजदुर कर्मचारी १४ महिनादेखि तलब सुविधाविहीन भएका छन् । तलब माग्दै उनीहरू अहिले आन्दोलनमा उत्रिएका छन् ।
१४ महिनादेखि सेवा सुविधा नपाएका कारण जीवनयापन नै कठिन भएको भन्दै उनीहरूले शुक्रबारदेखि संघर्ष समिति बनाएर त्रियुगा नगरपालिका–६ स्थित उद्योगको मुख्य प्रवेशद्वारमै धर्ना सुरु गरेका हुन् ।
मजदुर कर्मचारीले तत्काल तलब, सञ्चयकोष, नागरिक लगानी कोष, बीमा तथा अन्य रोकिएका सवै सेवा सुविधा उपलब्ध गराउन उद्योग प्रशासनसँग माग गरेका छन् ।
उद्योग पनि बन्द भएको र लामो समयदेखि मजदुर कर्मचारी तलबविहीन भएका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका संयोजक देवेन्द्र झाले बताए ।
‘१४ महिनादेखि कुनै तलब भुक्तानी भएको छैन, हामीले कसरी घर चलाउने ? बालबच्चालाई कसरी पढाउने ?’ उनले भने, ‘हदै भएपछि हामी आन्दोलनमा उत्रिएका छौं, हामीलाई अरु के नै विकल्प बाँकी छैन अब ।’
उद्योगमा कार्यरत केही मदजुरको भने तलव सुविधै नपाइकन निधन भइसकेको मजदुरहरू बताउँछन् । जापान सरकारको सहयोगमा निर्मित यो सिमेण्ट उद्योग एक समय नेपालकै गुणस्तरीय सिमेण्ट उत्पादन गर्ने उद्योगका रुपमा परिचित थियो ।
यो उद्योगलाई निजीकरण गर्ने कि नगर्ने भन्ने विवाद जारी रहेको बेलामा लामो समयदेखि उद्योग भने बन्द छ । राजनीतिक दलका स्थानीय नेताहरूले सरकार इतर भएको बेलामा मात्रै उद्योग निजीकरण हुनबाट रोक्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।
उद्योग भने आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको स्थानीय सरोकारवालाहरू बताउँछन् ।
यता मजदुर कर्मचारी भने एक बर्ष वितिसक्दा पनि तलब सुविधाबाट बञ्चित भएका छन् ।
आफूहरूले आन्दोलनबाहेक अरु केही गर्न सक्ने अवस्थामा नरहेको उनीहरूको भनाइ छ ।
उद्योगका निमित्त महाप्रबन्धक कोविदकुमार काफ्लेले उद्योगले हाल तिर्नुपर्ने दायित्व रकम पाँच अर्ब २९ करोड २४ लाख १३ हजार २८२ रुपैयाँ रहेको जानकारी दिए ।
उनले २०८१ चैतदेखि ०८२ चैत मसान्तसम्मको कर्मचारी र मजदुरलाई मात्रै एक अर्ब चार करोड २४ लाख १३ हजार २८२ रुपैयाँ ६१ पैसा तिर्न बाँकी रहेको बताए ।
उद्योगको विभिन्न कम्पनी र सप्लायर्सहरूलाई ७५ करोड र सरकारलाई तिर्नुपर्ने भ्याट, विद्युत महसुल अन्तःशुल्क, स्थानीय रोयल्टी लगायतको तीन अर्ब ५० करोड रुपैयाँ बढी बक्यौता रहेको जनाइएको छ ।
त्यसो त उद्योगमा विभिन्न समयमा पाटपूर्जा चोरीदेखि अनेकौं घोटालामा मदजुर कर्मचारी नै मुछिंदै आएका छन् । उनीहरूलाई राजनीतिक दल निकट ट्रेड युनियनको संरक्षण हुने गरेका कारण आरोपबाट उम्किने गरेको आरोप लाग्ने गरेको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो उद्योग २०४४ जेठ ३१ मा स्थापना भई व्यवसायिक रुपमा गैंडाछाप सिमेण्टको उत्पादन २०४७ सालदेखि सुरु गरेको हो ।
जापानको ओनोडा इञ्जिनियरिङले डिजाइन गरी कावासाकी हेभी इन्डष्ट्रिज टोमेन कर्पोरेशन जापानकै कन्सोर्टियममार्फत निर्माण गरिएको थियो ।
उद्योग स्थल जलजलेबाट २७ किलोमिटर माथि रहेको खानीबाट रोप–वेमार्फत चुनढुंगा ल्याएर दैनिक ८०० मेट्रिक टन सिमेण्ट उत्पादनको क्षमता रहेको थियो ।
उक्त खानीमा ३०० वर्षसम्मलाई पुग्ने मुख्यकच्चा पदार्थ चूनढुंगा रहेको छ । यहाँको चुनढुंगा सिमेन्ट उत्पादनका लागि गुणस्तरीय रहेकाले उद्योग नचल्ने अवस्थामा क्लिङ्कर उत्पादन गरेर भए पनि उद्योग सञ्चालन गर्नुपर्ने सरकारी अध्ययन प्रतिवेदनमै उल्लेख छ ।
यता, उदयपुरका प्रदेश सभा सांसद हिमाल कार्कीले बन्द अवस्थामा रहेको उद्योगलाई प्रदेश सरकार मातहत ल्याएर भए पनि सञ्चालन गर्नुपर्ने बताए ।
आइतबार कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले अहिले उद्योग मात्रै बन्द नभई मजदुर कर्मचारीको भान्सासमेत बन्द भएको बताए ।
View : 142
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved