Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

वंशावली पुनर्लेखनमा जुट्दै पानी पोखरेलहरू

उद्‌घोष संवाददाता
११ जेठ २०८१, शुक्रवार

विराटनगर । नेपाल तथा विश्वका विभिन्न भागमा छरिएर रहेका पानी पोखरेलहरूको वंशावलीको संशोधन तथा पुनर्लेखन गर्ने उद्देश्यले विराटनगरमा तीनदिने गोष्ठी बिहीबारबाट सुरु भएको छ ।

वंशावलीको संशोधन तथा पुनर्लेखन गर्नका लागि विभिन्न क्षेत्रका आत्रेय गोत्रीय पानी पोखरेलहरू अहिले विराटनगरमा भेला भएका छन् । 

भेलाले सबै पोखरेलहरूको थातथलो तथा तिनको बसोबास भएको स्थानको पहिचान गरी वंशावली विस्तारमा जोड दिने पोखरेल राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष निर्माणकुमार पोखरेलले बताए । 

उनैको सभापतित्वमा भएको पोखरेल वंशावली संशोधन एवम् पुनर्लेखन राष्ट्रिय गोष्ठीका प्रमुख अतिथि प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बन्धुबान्धवको भेलामा आफू पनि जोडिन पाएको भन्दै प्रसन्नता व्यक्त गरे । 

उनले पोखरेलको खास स्वभाव र पहिचान हुने उल्लेख गर्दै सितिमिति पोखरेलहरू अरुसँग नझुक्ने खालको हुन्छन् भन्ने आफूसमेतको अनुभव सुनाए । 

‘पोखरेलका छोरा वा छोरी, बुहारीसमेत छुट्टै चिनिन्छन्’ उनले भने, ‘म केही गर्छु भन्ने ‘जिन’ पोखरेलमा हुन्छ ।’ उनले पोखरेलको सार्वजनिक पहिचान फराकिलो हुने जिकिर गरे । 

कार्यक्रमका अर्का अतिथि श्रीलक्ष्मीनारायण मन्दिर एवम् वेद विद्याश्रम विराटनगर पाञ्चालीका स्वामी अच्युत प्रपान्नाचार्य अमृतप्रसाद पोखरेलले विभिन्न कालखण्डमा मुलुकको कायाकल्प गर्न पोखरेलहरूको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । 

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय कला, संकायका डिन प्रा.डा. अनिलकुमार पोखरेल, प्रा. कृष्ण पोखरेल, झापाका प्रेमप्रकाश फलाहारी, मोरङका पत्रकार बन्धु पोखरेल, डा. उद्धव पोखरेल, पोखराका जगतबहादुर पहाडी, भारत मिजोरमका काशीराम पोखरेल, तुलसी पोखरेल, श्रीनिवास पोखरेल, इञ्जिनियर कृष्णहरि पोखरेललगायतले शुझकामना व्यक्त गरेका थिए ।

कार्यत्रमको सञ्चालन नारायणप्रसाद पोखरेलले गरेका थिए ।

View : 701

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved