Biratnagar, Morang, Nepal
६ जेठ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

आठौं विराट गोल्डकप

इटहरी गोल्डकपको उपाधि उचालेको तेस्रो दिनमै चर्च ब्वाईज एपीएफसँग स्तब्ध

उद्घोष सम्वाददाता
१९ चैत २०८०, सोमवार

विराटनगर । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेतासमेत रहेको चर्च ब्वाईजलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । चर्च ब्वाईजले शनिबार मात्रै नेपाल आर्मीविरुद्धको खेलमा १–० को अन्तरले इटहरी गोल्डकपको उपाधि उचालेको थियो ।

विराटनगरको सहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो । जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ ।

जितको लागि एपीएपका प्रदिप लामा र अनिष महर्जनले गोल गरे । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो ।

५७ औं मिनेटमा एपीएफका प्रदिपले मध्यभागबाट बललाई एक्लै अगाडि बढाएर डिबक्स भित्रबाट आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । प्रदिपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए ।

८१ औं मिनेटमा विदेशी खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपीएफका अनिष महर्जनले गोल गरी टिमको जित सुनिश्चत गरे ।

छैठौं संस्करणको विराट गोल्डकपको बिजेता समेत रहेको एपीएफले १० महिना पछि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हारेको बदला समेत लिएको छ । लिग फुटबलमा चर्च व्वाईजले  एपीएफलाई ४ –१  गोलले पराजित गरेको थियो ।

चर्च ब्जाइजको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित निकालेको हो । खेलको सुरूवातदेखि एपीएफले आक्रमक खेल पस्कियो । खेल सुरु भएको १५ औं मिनेटमा एपीएफका मनिकुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । प्रदिपले निकालेको पासलाई मनिकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरियो ।

२७ मिनेटमा एसपीएफका जोनाह ग्लोरीले डि बक्सभित्रबाट गरेको पावरफुल प्रहार फस्टबारबाट बाहिरियो । त्यसलगतै ३४ मिनेटमा एपीएफका प्रदीप लामाले डिबक्सभित्र पास मिलाउँदा जोनाह ग्लोरीले गरेको फ्लिकलाई उत्कृष्ठ रुपमा चर्चब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाए । ४४ औं मिनटमा चर्च ब्वाइजका राजेश परियारले डिबक्स नजिकबाट गरेको कडा प्रहार बाहिरयो ।

आधा दर्जन प्रहार गोल गर्न चुक्दा चर्च ब्वाइज पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्दा विराट गोल्डकपको दाबीदारीको रुपमा हेरिएको चर्चब्वाइजको लागि दुर्भाग्यपूर्ण बन्यो ।

हारपछि चर्चब्वाइजका प्रशिक्षक रुबेन राईले टिम सेटको दुई जना खेलाडी गोल्डकप बाहिर हुनुै टोलीको लागि पराजयको अवस्था आएको बताए । ‘खेलमा अतिरिक्त खेलाडी पनि मैले मैदानको लागि राख्ने खालको भएन,’ उनले भने, ‘धेरै खेलाडीहरू घाइते भएकोले यो अवस्था आएको हो ।’

यता जितेपछि एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले पछिल्लो दुई भेटमा भएको पराजयको बदला लिन सफल भएको बताए । ‘अघिल्लो खेलहरूमा पनि प्रदिप लामाले गोल गरेका थिए । उनीसँगै अहिले एपीएफको टिम सन्तुलित रहेको छ ।’

खेलको म्यान अफ म्याच एपीएफका प्रदिप लामा घोषित भए । उनले नगद ११ हजार पाए । गोल्डकपको अन्तिम क्वाटरफाइनलमा मंगलबार मछिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउर्थन समितिको सामना गर्ने आयोजक गोल्डकप ट्रष्टका सचिव तथा प्रचार प्रसार संयोजक ध्रुव सिग्देलले जानकारी दिए ।

View : 174

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved