Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पत्रकार महासंघ मोरङको साधारणसभा सम्पन्न, ११ बुँदे घोषणापत्र जारी

उद्‌घोष संवाददाता
७ जेठ २०८३, बिहिवार

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्माले सरकारविरुद्ध अझ कडा आन्दोलनको चेतावनी दिइन् । उनले त्यसका लागि तयारी रहन महासंघका सदस्यहरूलाई आह्वान गरिन् ।

अध्यक्ष शर्माले सरकारी विज्ञापन वितरण प्रक्रियामा सरकारले देखाएको रवैयाप्रति असन्तुष्टि जनाएकी छन् । उक्त निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने बताइन् ।

सरकारले तानाशाही रुपमा अघि बढेको भन्दै सञ्चार क्षेत्रलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाइन् । उनले पत्रकारहरू एकजुट भएर प्रतिरोधमा उत्रिनुपर्ने अवस्था आएको बताइन् । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले पत्रकारहरूको वृत्ति विकास र क्षमता विकासका लागि महानगरपालिका सदैव साथमा रहेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सञ्चार क्षेत्रले उठाएका विषयलाई राज्यलाई अझ राम्रो गरी सेवा प्रवाह गर्न सहयोग पुग्ने बताए । 

साधारणसभामा मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष रविनकुमार दाहाल, महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष यज्ञ शर्मा, महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष लिलाबल्लव घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुईटेल, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासंघ मोरङका पूर्व अध्यक्ष वन्धु पोखरेललगायतले शुभकामना दिएका थिए । 

महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न साधारणसभामा विद्यावारिधि गरेका महासंघ मोरङका पूर्वउपाध्यक्ष रामचन्द्र अधिकारी, २९ वर्षदेखि महासंघ मोरङको कार्यलय सचिव भएर कार्यरत दीपक फुयँल र पत्रकार र उनीहरूका परिवारका सदस्यहरूको उपचारमा निरन्तर सहुलियत प्रदान गर्दै आएको विराटनगरको न्यूरो अस्पताललाई सम्मानित गरिएको जनाइएको छ ।

साधारणसभाको बन्दसत्रले महासंघ मोरङका सचिव नेत्र पी अधिकारीको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष कौशल निरौलाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

समसामयिक प्रस्तावसहित ११ बुँदे घोषणापत्र जारी

साधारणसभाले ११ बुँदे समसामयिक प्रस्तावसहितको घोषणापत्र जारी गरेको छ । 

घोषणापत्रमा संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न, सरकारले व्यवसायिक मिडियाको सञ्चालनमा अवरोध गर्नेगरी मन्त्रिपरिषद्को कार्यालयबाट जारी भएको विज्ञापन सम्बन्धि परिपत्र तत्काल खारेज गर्न, स्वरोजगारमुलक मिडियाहरूको प्रवद्र्धन गर्न स्थानीय तथा प्रदेश सरकार र निकायहरूको सूचना तथा विज्ञापनलाई सम्बन्धित तहकै सञ्चार माध्यममा समानुपातिक रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

त्यस्तै, लोककल्याणकारी विज्ञापन रोकिएको प्रति खेद व्यक्त गर्दै त्यसलाई निरन्तरता दिन र अनलाइन सञ्चार माध्यममा पनि लोककल्याणकारी विज्ञापन लागू गर्न साधारणसभाले माग गरेको छ । 

पत्रकारिता र पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न र पत्रकारको जीउधनको सुरक्षा गर्न पनि सरकारसँग जोडदार माग गरिएको छ ।

बदलिंदो परिवेशमा अहिले संचालनमा रहेका युट्यूव, सामाजिक सञ्जालमा आउने विषयवस्तुले पत्रकारिताको मूल्यमान्यता र प्रतिष्ठामा नकारात्मक प्रभाव पारेको अवस्थामा सूचना र सञ्चारमाध्यमका रुपमा सञ्चालित युट्यूव र सामाजिक सञ्जालका सञ्चालकलाई पत्रकारिताको ढाँचामा ल्याउन सम्बन्धित पक्षसँग छलफल र उनीहरुको क्षमता विकास गरी मूलधारमा ल्याउने प्रयास गर्ने महासंघले मोरङले प्रतिवद्धता जनाएको छ ।

पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि अझ प्रभावकारी तालिम तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारहरुसँग माग गरिएको छ ।

त्यस्तै, पत्रकारहरूको पेशागत सुरक्षाका लागि सम्बन्धित सञ्चारमाध्यमबाट नियुक्तिपत्र, परिचयपत्र र समय समयमा आवश्यक सिफारिस पाउने अवस्था सिर्जना गर्न, पत्रकार आचारसंहिताको परिपालनाका विषयमा पत्रकारहरूलाई नियमित अभिमुखिकरण गर्न र जिल्लाभित्र रहेका विभिन्न सञ्चारमाध्यमको अनुगमन गरी पत्रकारको पारिश्रमिक, तलव भत्ता तथा अन्य सेवा सुविधाको अनुगमन र अभिलेख गर्न महासंघ मोरङ जिल्ला कार्यसमिति प्रतिवद्ध रहेको उल्लेख छ ।

View : 154

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved