सुनसरी । १६औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधी गछिया युवा समाजले जितेको छ ।
इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधी उचालेको हो ।
गछियालाई उपाधी जिताउन दोर्जे तामाङले खेलको ८७ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो ।
रामवाजीले प्रहार गरेको कर्नर बल प्लानिङका डिफेण्डरबाट रिफ्लेक्ट भएर आएको थियो ।
उक्त बललाई दार्जेले उत्कृष्ट गोलमा परिणत गरे । उनले फाइनल खेलको म्यानअफद म्याच घोषित हुदै नगद १० हजार हात पार्न सफल भए ।
प्रतियोगिताको बिजेता टिम गछियाले नगद १० लाख रुपैयाँसहित गोल्डकपको ट्रफी उचाल्यो । उपबिजेता बनेको प्लानिङ ब्वाइजले ५ लाख रुपैयाँमा चिक्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गछियाका सुजन चौधरी घोषित भए ।
उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे । प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेण्डर, प्रतापसिंह राई मिडफिल्डर घोषित भए ।
गछियाका बिशाल सुनार उत्कृष्ट गोलकिपर, सुजन ढंगोल उत्कृष्ट फरवार्ड, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही नगद २० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिता अवधिभर ६ गोल गरेका प्लानिङ ब्वाइजका कप्तान फागुराम थारुले सर्वाधिक गोलकर्ता भए बापत नगद २५ हजार रुपैयाँ पाए ।
राष्ट्रिय जागृती क्लबका युजन राई उदयमान खेलाडी बने । उनले ३२ इञ्चको एलइडी टिभी पुरस्कार पाए ।
अन्तिम सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङको टोलीसँग उपाधी भिडन्त पक्का गरेको थियो ।
पहिलो सेमिफाइनलमा गछियाले साबिक बिजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
गछियाले क्वाटरफाइनलमा नाइजेरियन क्लब जस्टजोन एफसीलाई पराजित गरेको थियो ।
राष्ट्रिय जागृती क्लबले चैत ३० देखि आयोजना गरेको प्रतियोगीता दुई विदेशीसहित ८ टिमले खेलेका थिए ।
View : 148
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved