Biratnagar, Morang, Nepal
८ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

सशस्त्रद्वारा मोरङमा एक महिनामा ९ पक्राउ, ८५ लाख मूल्यका सामान बरामद

उद्‌घोष संवाददाता
७ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । मोरङका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ७ लाख ४५ हजार ९ सय ८५ रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीले शुक्रबार बरामद गरेको छ ।

बरामद सामानमा एउटा मोटरसाइकलसहित लत्ताकपडा, शैक्षिक तथा खेलकुद सामग्री, मेडिकल सामग्री तथा किराना सामान रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका युनिटबाट खटिएको टोलीले यतिका सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सो सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको गणले जनाएको छ । दुई दिनअघि विराटनगर–१४ जतुवास्थित सुरेश यादवको घरबाट पनि सशस्त्र प्रहरीले करिब ३ लाख ३८ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको थियो ।

अबैध सामान घरमा लुकाएको आशंकामा गएको सशस्त्र प्रहरीलाई यादवले अवरोध गरेका थिए । सशस्त्रले नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएका यादव धरौटीमा रिहा भएका छन् ।

अवैध सामान लुकाइछिपाइ राखिएको सूचनाका आधारमा विराटनगर भन्सार कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले यादवको घरमा खोजतलास गरेको थियो ।

खोजतलासका क्रममा रजनीगन्धा तथा विभिन्न प्रकारका लत्ताकपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङले चालु आर्थिक वर्षको साउन यता लागूऔषध तथा भन्सार छलीका सामान बरामद गर्नुका साथै ९ जनालाई पक्राउ गरिसकेको छ ।

सशस्त्र प्रहरीका अनुसार यो अवधिमा महिनामा ८२० मिलिग्राम खैरो हेरोइन, १ किलो ६५ ग्राम ८४ मिलिग्राम गाँजा, १८ हजार ६० ट्याब्लेट ट्रामाडोल र ६ हजार ट्याब्लेट डाइसाइक्लोमिन एचसीएल बरामद गरिएको छ ।

लागूऔषध नियन्त्रणका क्रममा ८ जना पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीले हिरासतमा राखेर कारवाही गर्दैछ ।

उनीहरूबाट स्कुटर २ वटा, मोटरसाइकल ३ वटा, सिटी सफारी १ वटा, अटो २ वटा र चारपाङ्ग्रे सवारीसाधन १ वटा नियन्त्रणमा लिइएको छ । साउन यता सशस्त्र प्रहरीले ८५ लाख ६२ हजार ४ सय ८५ रुपैंयाँ बराबरको भन्सार छलीका सामान पक्राउ गरी भन्सार कार्यालय बुझाएको छ ।

ती सामानमा लत्ताकपडा, किराना, इलेक्ट्रोनिक्स, हार्डवेयर, सवारीसाधन, चौपाया तथा अन्य सामान रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामानमध्ये कपडा मात्रै २५ लाख ४९ हजार ४ सय ६० रुपैयाँ बराबरको हो ।

किराना सामग्री ६ लाख ६७ हजार ५ सय २९ रुपैयाँ, इलेक्ट्रोनिक्स सामान २ लाख ६९ हजार ९ सय २५, हार्डवेयर ६३ हजार ८ सय र सवारीसाधन २६ लाख ५७ हजार ६ सय ४७ रुपैयाँ बराबरको रहेको छ ।

यसैगरी पशुचौपाया १ लाख ३४ हजार ५ सय रुपैयाँ, अन्य सामान ४१ हजार ७ सय २ रुपैयाँ तथा भारतीय र नेपाली नोटसहित अन्य सामग्री ८३ हजार ३ सय रुपैयाँ बराबरको बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले मोरङका सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तर रहेको सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

View : 93

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved