Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

जाजरकोटका भूकम्पपीडित विद्यार्थीलाई एलसीबी गुराँसको सहयोग

उद्‌घोष सम्वाददाता
२५ मंसिर २०८०, सोमवार

विराटनगर । जाजरकोटका भूकम्पपीडित विद्यार्थीका लागि लायन्स क्लव अफ विराटनगर (एलसीबी) गुराँसले न्यानो पोसाक वितरण गरेको छ । गत कात्तिक १८ गते शुक्रबार राति गएको भूकम्पका कारण घरविहीन हुन पुगेका स्कुले बालबालिकालाई लक्षित गर्दै एलसीबी गुराँसले ट्रयाकसुट वितरण गरेको हो ।

भूकम्पको केन्द्रविन्दु रहेको भेरी नगरपालिकाका दुई विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको एलसीबी गुराँसका अध्यक्ष तथा एमाले विराटनगर-४ का अध्यक्ष नवराज काफ्लेले बताए ।

उनका अनुसार भूकम्पबाट त्यस क्षेत्रका अधिकांश प्रभावित हुँदा अन्यका लागि सहयोग जुटेपनि विद्यार्थीका लागि खासै सहयोग नभएको पाइएको थियो । त्यसपछि एलसीबीले सानो सहयोग गरेको उनले बताए ।  शिव मावि कालेगाउँका तीन सय र हरिशिव प्रावि गैरीगाउँका एक सय जना विद्यार्थीका लागि ट्रयाकसुट वितरण गरिएको हो ।

विद्यालय पूर्ण रूपमा क्षति भएपछि टिनका छाप्रा र खुला चौरमा पढ्नुपर्ने विद्यार्थीको बाध्यता हेरेपछि बालबालिकाको लागि सहयोग अझै आवश्यकता रहेको महसुस भएको काफ्लेले बताए । 

‘हामीले गरेको सहयोग ठूलो होइन, तर यसरी नै सबैको ध्यान जान आवश्यक छ,' उनले भने, ‘जाडो बढ्दै जाँदा विद्यार्थीको अवस्था कस्तो होला भन्ने लागेर अमेरिका निवासी नारायण अधिकारीलगायत परिवारको सहयोगमा पोशाक वितरण गरेका हौं ।’ 

यसको लागि समन्वय क्लवका पूर्वअध्यक्ष गंगाबहादुर अधिकारीले गरेका हुन् । पूर्व अध्यक्ष अधिकारी र काफ्ले आफैं जाजरकोट पुगेर शिव मावि कालेगाउँका विद्यार्थीलाई पोसाक वितरण गरेका हुन् भने हरि शिव प्राविका लागि भेरी नगरपालिकाका प्रमुखलाई जिम्मा लगाएर फर्किएको जनाइएको छ ।

पोसाक जिम्मा लिँदै नगर प्रमुख सीपी घर्ती मगरले विद्यार्थीका लागि एलसीबी गुराँसले गरेको सहयोग अति नै सराहनीय रहेको बताए । उनले विद्यार्थीको लागि पोसाक भनेर सहयोग गरिएको यो नै पहिलो पटक भएको समेत बताए ।

View : 142

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved