Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मुनलाइट गर्ल्स होस्टलकी सञ्चालिकालाई कारवाहीको माग गर्दै सिडियो कार्यालयमा प्रदर्शन (फोटो)

विद्यार्थी भन्छन्– ‘सुरक्षा निकायकै सेटिङमै दोषीलाई अस्पताल लगियो’
उद्घोष सम्वाददाता
२ चैत २०८०, शुक्रवार

विराटनगर । विराटनगर–८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टलकी सञ्चालिका मधु कटुवाल रेग्मीलाई सुरक्षा निकायकै सेटिङमा कोशी अस्पतालमा भर्ना गरिएको र त्यहाँबाट रेफर गरेर अर्को अस्पतालमा पठाइएको विद्यार्थीहरूले आरोप लगाएका छन् । विद्यार्थीहरूले होस्टल सञ्चालिका रेग्मीलाई कानुनी कारवाही गर्न प्रहरी प्रशासनले नै आनाकानी गरेको दाबी गरेका छन् ।

कारवाही गर्नुपर्ने होस्टल संचालिकालाई प्रशासनकै संरक्षणमा जोगाउने काम भइरहेको भन्दै विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई दोषी नजोगाउन चेतावनी दिँदै लिखित रुपमा ध्यानाकर्षण समेत गराएका छन् । त्यसअघि विद्यार्थीहरूले सिडियो कार्यालय अगाडि नाराबाजी गरेका हुन् ।

स्ववियु सभापति प्रशंसा पौडेलले दोषीलाई कारवाही गर्नुको साटो प्रहरी प्रशासनकै रेखदेखमा अस्पतालमाथि अस्पताल सार्ने काम भइरहेको आरोप लगाइन् । उनले कानुन कार्यन्वयन निकायले पीडित विद्यार्थीहरूलाई न्याय दिन नसकेको बताइन् ।

‘पुलिस प्रशासनको रेखदेखमा अस्पतालमाथि अस्पताल जोगाएर राख्ने काम भइरहेको छ, हामी पीडित विद्यार्थीहरूलाई कुदाएको कुदाई गर्ने काम गरिएको छ, हाम्रो कुरा नसुन्ने, हामीलाई न्याय पनि नदिने जस्तो देखिएको छ’ उनले भनिन्, ‘होस्टलका नाममा फेरी पनि कोही पनि विद्यार्थी यसरी पीडित हुनु नपरोस् भन्ने हाम्रो माग छ, विद्यार्थीमाथि दुर्व्यवहार गर्ने सञ्चालिकालाई कारवाही हुनुपर्दछ, होस्टल खारेज हुनुपर्दछ ।’

नर्सिङ क्याम्पसकी स्ववियु सचिव एलिसा राउतले मेडिकल डाक्टरको सिफारिस नै नभई पर्याप्त कारण नै नदेखाई दोषीलाई जोगाउन हस्पिटल भर्ना गरिएको र उपचारको प्रक्रिया विपरित रिफर लेखेर अस्पताल सार्ने काम भइरहेको आरोप लगाइन् ।

नर्सिङ क्याम्पसका पीडित विद्यार्थीहरू सहित प्रदर्शनमा उत्रिएका विभिन्न राजनीतिक दल सम्वद्ध विद्यार्थी संगठनका नेताहरूले जुम्लादेखि अध्ययनका लागि आएका विद्यार्थीहरूले विराटनगरमा सुरक्षा नपाउने अवस्था आएको भन्दै आफूहरू चुप लागेर नबस्ने चेतावनी दिए ।

उनीहरूले विराटनगरका अरु होस्टेलहरूमा समेत निगरानी बढाउनु पर्ने अवस्था बन्दै गएको बताए । उनीहरूले प्रमुख जिल्ला अधिकारीले नै सेटिङ गरेर होस्टल सञ्चालिका रेग्मीलाई अस्पताल पठाएको आरोप लगाएका थिए ।

विद्यार्थीहरूको गुनासो सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले आरोपित व्यक्ति अनुसन्धानको दायरामा आइसकेको बताउँदै विद्यार्थीहरूले उठाएका विषयलाई समेत अनुसन्धानको सहयोगी पाटो बनाइने आश्वासन दिएका थिए ।

होस्टल सञ्चालिका रेग्मीले मंगलबार साँझ विद्यार्थीहरू बसेको कोठामै प्रवेश गरेर उनीहरूलाई अपशब्द प्रयोग गर्दै आक्रमण गरेकी थिइन् । उक्त घटनाको भिडियो बाहिरिएपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् ।

विराटनगर नर्सिङ क्याम्पसमा विएनएस बिएस्सी नर्सिङ प्रथम वर्षमा अध्ययनका लागि बुटबल र जुम्लाबाट आएका विद्यार्थीहरूलाई क्याम्पसमा तत्काल होस्टल खाली नभएपछि केहि दिनका लागि भन्दै मुनलाइट होस्टलमा पठाइएको थियो ।

क्याम्पसकै होस्टलमा पर्याप्त कोठाको व्यवस्थापन नहुन्जेलसम्मका लागि बाहिरी होस्टलमा बस्दै आइरहेको उनीहरूलाई होस्टल सञ्चालिका रेग्मीले चैत महिनाको भाडा रकम समेत अग्रिम रुपमा बुझाउन दवाव दिएकी थिइन् ।

विद्यार्थीहरूलाई पटक– पटक दुर्व्यवहार गर्दै आएकी रेग्मीले उनीहरूको सिरक, तन्ना, ब्ल्याङ्केट, सिरानीका साथै पाठ्यपुस्तकहरू समेत फालिदिएकी थिइन् । उनले बलपूर्वक विद्यार्थीहरूलाई निकाल्ने प्रयास गरेकी थिइन् । 

View : 88

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved