विराटनगर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट खरानी बनेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट फेरि एकपटक ग्राहकको स्वागत गर्न तयार भएको छ । करिब १० महिनाको अथक पुनर्निर्माणपछि सुपरमार्केट आगामी असार २७ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको हो ।
औपचारिक रुपमा पुनः सञ्चालन हुनुअघि सोमबार उक्त स्टोरमा वैदिक विधिअनुसार विशेष पूजा गरिएको छ ।
पूजापछि तीन सयभन्दा बढी कर्मचारी भाटभटेनीको औपचारिक सञ्चालनको अन्तिम तयारीमा जुटेका छन् ।
बिक्री कक्षमा सामान सजाउने, विभागअनुसारको सामानको व्यवस्थापन मिलाउने र सेवा सञ्चालनको सम्पूर्ण प्रक्रिया पूरा गर्ने काममा उनीहरू तीव्र रूपमा जुटेका हुन् ।
भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङले शुक्रबारसम्म सम्पूर्ण तयारी सम्पन्न हुने र शनिबारदेखि ग्राहकलाई नियमित सेवा दिन थालिने बताएकी छन् ।
उनका अनुसार जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका भाटभटेनीका स्टोरमध्ये पुनः सञ्चालनमा आउने लागेको विराटनगर आठौं स्टोर हो ।
यसपछि झापाको बिर्तामोडस्थित सुपरमार्केट सञ्चालनमा आउने निर्देशक गुरुङले बताइन् । कर्मचारी र मजदुरहरूले मौरीले जस्तो काम गरेर भाटभटेनी फेरि खडा भएको सञ्चालक गुरुङले बताइन् । ‘हेर्नुस् त मौरीले जस्तो काम गरिरहेका छन्’ उनले भनिन् ।
सोमबार गरिएको पूजामा उनका छोरा कल्याण गुरुङ र बुहारी विधा गुरुङ सहभागी थिए। अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ भने स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित हुन नसकेको उनले बताइन् ।
विराटनगर भाटभटेनी पुनर्निर्माणमा दिनरात खटिएका करिब ३०० मजदुरलाई भाटभटेनीले खादा ओढाएर नगदसहित सम्मान पनि गरेको छ।
कुनै पनि संस्थाको सफलता श्रमिकको पसिना र इमानदार मेहनतमा हुने भएकाले उनीहरूलाई सम्मान गरिएको गुरुङले बताइन् । ‘यो भवन फेरि उभिएको छ, यसको सबैभन्दा ठूलो श्रेय निर्माणमा खटिएका मजदुर र कर्मचारीलाई जान्छ’ उनले भनिन् ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभर भाटभटेनीका २८ शाखामध्ये १२ वटा पूर्ण रूपमा आगजनीबाट नष्ट भएका थिए भने अन्य ९ वटा शाखामा व्यापक तोडफोड, लुटपाट र क्षति पुगेको थियो ।
कम्पनीका अनुसार त्यस घटनाबाट करिब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो। त्यस कठिन परिस्थितिमा पनि कम्पनीले कुनै पनि कर्मचारी नकटाउने र सबै प्रभावित शाखा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो ।
आगलागीमा विराटनगरस्थित भाटभटेनीका अधिकांश संरचना, उपकरण, विद्युतीय प्रणाली, फर्निचर र बिक्रीका सामग्री पूर्ण रूपमा नष्ट भएका थिए। त्यसपछि नयाँ डिजाइन, आधुनिक सुरक्षा मापदण्ड, अत्याधुनिक विद्युतीय प्रणाली तथा ग्राहकमैत्री संरचनासहित पुनर्निर्माणको काम सुरु गरिएको कम्पनीले जनाएको छ ।
निर्माण अवधिभर करिब ३०० जना मजदुर, प्राविधिक र कर्मचारी निरन्तर खटिएका थिए। उनीहरूको निरन्तर मेहनतले करिब १० महिनामै स्टोर पुनः सञ्चालनयोग्य बनेको हो ।
काठमाडौंको भाटभटेनी क्षेत्रबाट सानो किराना पसलका रूपमा सुरु भएको भाटभटेनी अहिले नेपालको सबैभन्दा ठूलो खुद्रा व्यापारिक सञ्जाल बनेको छ। कम्पनीका देशभर २८ शाखा छन् र १० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।
View : 177
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved