Biratnagar, Morang, Nepal
२२ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस विवाद : गगन–शेखर संवाद सकारात्मक

२२ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसभित्र चुलिँदो विवाद समाधान गर्न भन्दै सभापति गगन थापाले इतर पक्षका नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् । 

आइतबार पार्टी सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आन्तरिक समस्या समाधानमा केन्द्रित रहेर कुराकानी भएको छ । 

भेटका क्रममा नेता कोइरालाले मुलुक, लोकतन्त्र र राष्ट्रियता जटिल मोडमा पुगेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको औंल्याउँदै पार्टी एकताका लागि आफ्नो तर्फबाट जुनसुकै त्याग गर्न तयार रहेको प्रतिबद्धता जनाएको उनको सचिवालयले जनाएको छ ।  जवाफमा सभापति थापाले पनि आफू सधैँ एकताकै पक्षमा रहेको स्पष्ट पार्दै सहमतिका लागि थप लचक हुने संकेत दिएका छन् । 

पार्टीलाई मिलाएर लैजाने प्रयासस्वरूप संस्थापन पक्ष यसअघि नेता कोइरालाले अघि सारेको पाँचबुँदे प्रस्ताव स्वीकार गर्न तयार भएको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टीभित्रका सबै पक्ष एक ठाउँमा आउने अवस्थामा कोइरालाका प्रस्तावहरूलाई अँगालेर अघि बढ्न संस्थापन पक्ष सकारात्मक बनेको हो ।

यसअघि कोइरालाले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औं महाधिवेशनपछि नवीकरण भएका सदस्यताका आधारमा अघि बढ्ने, भूतपूर्व र वर्तमान केन्द्रीय कार्यसमितिबीच समायोजन गर्ने, सभापतिको बहुमत हुने गरी कार्यसम्पादन समिति बनाउने तथा विभिन्न समितिहरू सहमतिमा गठन गर्नेसहितका पाँच बुँदा अघि सारेका थिए ।

अर्कोतर्फ, प्राकृतिक विपत्ति र आन्तरिक एकताको गृहकार्यलाई ध्यानमा राख्दै कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको कार्यतालिका संशोधन गर्ने भएको छ । 

बाढीको प्रभाव र सहमतिको प्रयास जारी रहेकाले आगामी बुधबारदेखि तय भएको वडा अधिवेशनको तालिका केही पछि धकेलिने महामन्त्री पौडेलले जानकारी दिएका छन् । 

यद्यपि, आगामी १६ देखि १९ असोजका लागि निर्धारित केन्द्रीय महाधिवेशनको मिति भने यथावत् राखिनेछ । 

महाधिवेशनका सम्बन्धमा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागेसम्म अघि बढ्न नहुने अडानमा छ । 

सर्वोच्च अदालतले साउन २१ मा फैसला पुनरावलोकनको अनुमति दिए पनि महाधिवेशन रोक्न अन्तरिम आदेश नदिएपछि संस्थापन पक्षलाई प्रक्रिया अघि बढाउने बाटो खुलेको थियो । 

सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तल्ला तहको अधिवेशन तालिका संशोधन गर्ने संकेत दिएको छ ।

View : 31

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved