Biratnagar, Morang, Nepal
२२ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी अस्पतालको जग्गा खाली नभएपछि गृहमन्त्रीको चासो

उद्‌घोष संवाददाता
२२ असार २०८३, सोमवार

Advertisement

विराटनगर । परिसरभित्रकै जग्गा अतिक्रमण रोक्न नसकेको कोशी अस्पतालले जग्गाको भोगचलनका लागि अनेकौं प्रयास जारी राखेको छ । 

अस्पतालको जग्गामा भवन संरचना बनाएर स्वास्थ्य क्षेत्रसँग नै साइनो सम्बन्ध राख्ने रक्त रञ्चार केन्द्र (ब्लड बैंक) र नेपाल क्षयरोग निवारण संस्था तथा देवकोटा पुस्तकालय लगायतका अन्य संस्था पनि बस्दै आएका छन् । तर अहिले विशिष्टीकृत सेवा विस्तार गर्ने क्रममा ठाउँ अभाव भएका कारण कोसी अस्पतालले यी संस्थालाई हटाउन संघर्षरत रहेको छ ।

विशेषगरी क्षयरोग निवारण संस्थाले आफ्नो परिसरबाट हट्नका लागि अनाकानी गर्दै आएको कोशी अस्पताल प्रशासनको बुझाइ छ । 

आइतबार विहान कोशी अस्पतालको अवलोकन गरेकी वर्तमान स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष अस्पताल प्रशासनले अस्पतालको अतिक्रमित जग्गा खाली गर्न अहिलेसम्म गरिएको प्रयासबारे जानकारी गराएको थियो । 

तर विभागीय मन्त्रीबाट मात्रै काम नहुने निश्कर्षसहित मोरङ–सुनसरी–धनकुटा दौडधुप गरिरहेका गृहमन्त्री सुधन गुरुङलाई समेत खाली गराउनु पर्ने अस्पतालको जग्गाको अवस्था आइतबार साँझ स्थलगत रुपमा देखाइएको हो । 

विहानै अस्पतालको भ्रमण गरी कर्मचारीहरूसँग छलफल समेत सकेर निस्किएकी स्वास्थ्यमन्त्री मेहता साँझ गृहमन्त्री गुरुङसँगै स्थलगत अवलोकनमा सहभागी भएपछि अस्पतालको जग्गा खाली गर्ने प्रक्रियाले भित्रभित्रै नयाँ मोड लिएको हो ।

स्रोतका अनुसार गृहमन्त्री गुरुङ अस्पतालको अतिक्रमित जग्गा हटाउने बिषयमा सकारात्मक छन् । 

गुरुङले अस्पतालको नयाँ भवन निर्माण र अन्य पूर्वाधार विकासका लागि ठाउँ साँगुरो भएको जानकारी पाएको र विभागीय मन्त्री निशा मेहताले समेत सोही कुरा जानकारी गराएका कारण स्थानीय प्रशासनसँग छलफल गरी चाँडै अतिक्रमण हटाउने विषयमा निर्णयमा पुग्न लागेको जनाइएको छ । 

स्वास्थमन्त्री मेहताले आइतबार साँझको अस्पताल अवलोकनपछि भने अस्पतालको जग्गा खाली भएरै छाड्ने बताएकी छन् । ‘सूचनाको समय सकियो, अब जग्गा खाली हुन्छ’ उनले भनिन् ।

कोशी अस्पताल प्रशासनले पनि अतिक्रमण गरेर बसेका संस्थालाई हटाउन अन्तिम तयारी स्वरुप जग्गा नापजाँचको काम सम्पन्न गरिसकेको छ । 

ती संस्थाहरूले अस्पतालको जग्गामा आफूमात्रै नबसी भवन र सटर संरचना बनाएर भाडा बापत लाखौं असुली गरिरहेको र त्यसरी असुल गरिएको रकमको पारदर्शी समेत नभएको अस्पताल प्रशासनले गुनासो गर्दै आएको छ ।

जग्गा ओगटेर बसेका संस्थाहरूलाई हटाउने प्रयास स्वरुप आफ्नो स्वामित्वको जमिनको मालपोत वापत १० लाख ५७ हजार रुपैयाँ तिरिसकेको अस्पताल प्रशासनको भनाइ छ । 

कोशी अस्पतालले आकस्मिक कक्षको आधुनिक भवन, आईसीयू र ट्रमा सेन्टर निर्माणका लागि बहुवर्षीय योजना अघि बढाइसकेको छ । त्यसका लाग संघीय सरकारले बजेट छुट्याएपछि जमिन खाली नहुँदा निर्माणको प्रक्रिया अघि बढाउन कठिनाई हुँदै आएको छ । 

क्षयरोग निवारण संस्थाले २०१६ सालदेखि अस्पतालको जमिन भोगचलन गर्दै सटर निर्माण गरी भाडा असुुुुुुुुुुुुुुुुुुुुुली गर्दै आएको अस्पतालको आरोप छ । 

रेडक्रसले पनि ब्लड बैंक निर्माण गरेर भवनको भुईतला राष्ट्रिय वाणिज्य बैंकलाई भाडा लगाएर भाडा असुल गर्दै आएको छ । 

अस्पतालले क्षयरोग र रेडक्रसलाई पत्रै पठाएर जमिन प्रयोगको इजाजतसम्बन्धि कागजात माग गरिसकेको छ ।

कोशी अस्पतालले आफ्नो नाममा ५ बिघा ८ कठ्ठा जग्गा रहेको दाबी गर्दै आएको छ । तर रेडक्रस र क्षयरोग संस्थाले भने तत्कालिन राजदरबारबाट जमिन भोगचलनको आदेश भए अनुसार हालसम्म अस्पतालको जमिनमा रहेको जवाफ दिने गरेका छन् ।

स्वास्थ्यमन्त्री मेहताले आइतबार विहान भने कोशी अञ्चल अस्पतालका मेसु डा. चन्द्रभाल झासहितको उपस्थितिमा अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने, अस्पताल परिसरभित्र रहेका अनाधिकृत संरचनाहरू हटाउने लगायतका विषयमा यसअघिका निर्देशन तत्काल कार्यान्वयन गर्न अस्पताललाई आग्रह गरेकी थिइन् ।

उनले अस्पतालको आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गर्दै सेवा प्रवाह, सरसफाइ, औषधि व्यवस्थापन तथा पूर्वाधारको अवस्थाबारे जानकारी लिएकी थिइन् । 

मन्त्री मेहताले अस्पताल परिसरको सरसफाइलाई थप प्रभावकारी बनाउन, निर्माण तथा मर्मतसम्भारका कार्य तोकिएको समयभित्र सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापनलाई व्यवस्थित गर्न तथा प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण पेश गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन् ।

View : 41

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved