Biratnagar, Morang, Nepal
१५ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

आमा छोरीको दुई कृति विमोचन

उद्‌घोष संवाददाता
१५ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । भद्रपुर पुस्तकालय, भद्रपुर झापाको आयोजनामा मुक्तककार लता खरेलको ‘शिशिरको जून’ मुक्तक सङ्ग्रह र बालकवि सफलता फुयलको कविता सङ्ग्रह ‘आभा’ एक समारोहबिच लोकार्पण गरिएको छ ।

भद्रपुर पुस्तकालयका अध्यक्ष प्रा. चिन्तामणि दाहालको सभापतित्व तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सभापति दाहाल, प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि समालोचक प्राध्यापक कविराज न्यौपाने, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, लता खरेलका माता, पिता र सासू,ससुरा लगायतले  संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका हुन् ।

लोकार्पित कृतिमध्ये मुक्तकसङ्ग्रह शिशिरको जूनको समीक्षा  समीक्षक प्रा.चूडामणि वशिष्ठले र आभा कवितासङ्ग्रहको समीक्षा समालोचक नमुना निरौला दाहालले गरेकी थिइन् ।

कार्यक्रममा शिशिरको जून कृतिबाट मुक्तककार कृष्ण सुवेदी ‘निराकार’, रोमु अधिकारी, लक्ष्मी रायमाझी, उमेश लुइँटेलले मुक्तक वाचन गरेका थिए । 

आभा कृतिबाट कविहरू साङसेन पान्धाक, सुभद्रा भट्टराई, निर्मला कोइराला, हरि कट्टेल लगायतले कविता वाचन गरेका थिए ।

सो कार्यक्रममा मुक्तककार केशव आचार्य, समालोचक रत्नमणि नेपाल, मुक्तककार बाबुराम पोखरेल, लेखक केशु विरहीलगायतका साहित्यकारहरुले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाली साहित्यको कविता, मुक्तक, गीत,गजल, कथा विधामा लामो समयदेखि  योगदान दिएकोमा साहित्यकारहरू विवश पोखरेल, केशव आचार्य, लीला लेखनका अभियन्ता डा. रत्नमणि नेपाललाई सम्मान गरिएको थियो ।

शिशिरको जून मुक्तकसङ्ग्रहभित्र १८८ वटा र आभा कवितासङ्ग्रहभित्र ३० वटा विविध विषयका कविताहरू समावेश छ्न् ।

सो दुवै कृतिभित्र  कवि समालोचक विवश पोखरेलको भूमिका छ भने कवितासङ्ग्रहमा वरिष्ठ कवि डा विष्णुविभू घिमिरे, वरिष्ठ मुक्तककार उषा शेरचनको शुभकामना छ ।

शिशिरको जूनको प्रकाशक विक्रम फुयल र आभाको प्रकाशक बालकविकी आमाबुबा लता खरेल र विक्रम फुयल छन् । दुवै स्रष्टा आमा छोरी हुन् ।

View : 11

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved