Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

निजी क्षेत्र जिम्मेवार, परिणाममुखी र एकताबद्ध हुनुपर्छ : अध्यक्ष राउत

उद्‌घोष संवाददाता
३१ वैशाख २०८३, बिहिवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतले देश आर्थिक चुनौतीबाट गुज्रिरहेको भन्दै यो अवस्थामा निजी क्षेत्र अझ जिम्मेवार, परिणाममुखी र एकताबद्ध हुनुपर्ने बताएका छन् ।

बिहीबार आयोजित पदस्थापन कार्यक्रममा अध्यक्षका रुपमा पद तथा गोपनीयता सपथ लिएका राउतले उद्योग व्यवसायमा लगानीको वातावरण कमजोर बनेको, बजार संकुचित भएको, युवाशक्ति विदेश पलायन भइरहेको र नीतिगत अस्थिरताले निजी क्षेत्र दबाबमा परेको उल्लेख गरेका छन् ।

उनले कोशी प्रदेश अत्यन्तै सम्भावना बोकेको प्रदेश भएको बताउँदै उद्योग, कृषि, पर्यटन, जलस्रोत, स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रशस्त अवसर रहेको धारणा राखे । ती सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्ने समय आएको उनको भनाइ थियो ।

राजनीतिक अस्थिरताका कारण निजी क्षेत्र निराश भइरहेको अवस्थामा अहिले बनेको सरकार पाँच वर्षसम्म स्थायी रूपमा अघि बढ्नेमा आफू विश्वस्त रहेको र आगामी दिनमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको उनले बताए ।

अमेरिका र इरानबीचको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा उत्पादन, ढुवानी तथा दैनिक उपभोग्य वस्तुमा महँगी बढेको र त्यसको असर सर्वसाधारणसम्म परेको उनले उल्लेख गरे ।

राउतले महासंघ प्रदेश समितिको स्थापनाकालदेखि नै प्रदेशको आर्थिक विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । गत वर्ष सम्पन्न लगानी सम्मेलन र पर्यटन वर्ष २०८२ सफल बनाउन महासंघले प्रदेश स्तरबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे ।

साथै, कृषि व्यवसाय र कृषक प्रवद्र्धनका लागि कृषि एक्स्पो, ढाका कपडाको प्रवद्र्धनका लागि ढाका महोत्सव तथा रोजगारी सिर्जनाका लागि रोजगार मेला आयोजना गरेको बताए । 

महासंघका गतिविधिको मूल्यांकन गर्दै गत वर्ष नै केन्द्रीय महासंघबाट उत्कृष्ट प्रदेशको सम्मान प्राप्त गरेको उल्लेख गरे । 

जसका कारण महासंघ कोशी प्रदेश समितिले अझ जिम्मेवारीका साथ काम गर्दै आएको र त्यसैलाई सबै उद्योगी व्यवसायीले विश्वास गरेर दोस्रो पटक पनि निर्वाचित गराएको भन्दै खुसी व्यक्त गरे ।

आगामी बजेटले कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन् । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमार्फत आर्थिक वृद्धिको आधार बलियो बनाउनुपर्नेमा राउतले जोड दिए ।

पुँजी बजारको विकास तथा उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण बढाउने नीति आवश्यक रहेको उल्लेख गर्दै उनले स्वदेशमै उद्योग स्थापना गर्ने स्पष्ट नीति नआएसम्म आयात घट्न नसक्ने बताए ।

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र आशावादी रहेको भन्दै उनले ‘लगानी एक्सप्रेस’ नीति, एक दिनमै कम्पनी दर्ता, ३० दिनभित्र लगानी अनुमति, औद्योगिक नीति परिमार्जन, कर पुनरावलोकन, भन्सार चुहावट नियन्त्रण तथा पूर्वाधार वित्तपोषण मोडलजस्ता कार्यक्रम सकारात्मक रहेको बताए ।

त्यस्तै, उच्च क्षमतायुक्त डेटा सेन्टर, डिजिटल पार्क स्थापना, अनुसन्धान र नवप्रवर्तनमा कर प्रोत्साहन तथा रिमोटवर्कसम्बन्धी कानुन निर्माणको घोषणाले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।

त्यसैगरी सरकारले भिजिट नेपाल २०८५ अभियानमार्फत नेपाललाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको उल्लेख गर्दै कोशी प्रदेशमा पनि पर्यटन प्रवद्र्धनका विशेष कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

अध्यक्ष राउतले आफ्नो कार्यकालमा महासंघको स्थायी भौतिक संरचना निर्माण, सुव्यवस्थित सचिवालय स्थापना, सदस्यता विस्तार, संस्थालाई आर्थिक रूपमा सुदृढ बनाउने तथा महासंघलाई पारदर्शी, उत्तरदायी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए ।

View : 139

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved