Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

हपहपी गर्मीले बिथोल्यो दैनिकी, तत्कालै ठूलो वर्षाको छैन सम्भावना

उद्‌घोष संवाददाता
२० जेठ २०८३, बुधवार

विराटनगर । पछिल्ला चार दिन दिनयता विराटनगरसहित कोशी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी बढेको छ । अधिकतम् तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्दा सर्वसाधारणको दैनिक जीवन पूरै प्रभावित भएको छ । 

अधिक गर्मीको मारमा सडकमा काम गर्ने श्रमिक, सवारी चालक र घर बाहिर निस्कनै पर्ने पंक्ति अत्यधिक गर्मी र तातो हावाको प्रत्यक्ष मारमा परेको छ । 

यो साताको सुरुआतकै दिन आइतबार विराटनगरको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस पुगेको थियो । 

सोमबार ३८ डिग्री पुगेको तापक्रम मंगलबार ४० डिग्री सेल्सियससम्म पुग्यो । बुधबारको तापक्रम पनि उस्तै छ ।

‘अहिले त हावा पनि तातो चल्न थालेको छ,’ विराटनगर हरिहर चोकका बासिन्दासमेत रहेका सिटी चालक रत्नकुमार चौधरीले भने ‘दुई तीन दिन भयो, गर्मीले साह्रै सताएको छ । मान्छेहरु घर बाहिर धेरै निस्केको छैनन् ।’ 

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार लगातार दुई वा तीन दिनसम्म उच्च तापक्रम रहँदा हावा तातो हुने ‘तातो दिन’ को अवस्था सिर्जना हुन्छ । 

यसले जनस्वास्थ्य र दैनिक क्रियाकलापमा नकारात्मक प्रभाव पारिरहेको छ । बुधबारदेखि मनसुनी वायु केही सक्रिय हुने संकेत देखिएको छ । 

मनसुन भित्रने प्रक्रिया परिपक्व नभएकाले विराटनगर र कोशी प्रदेशका तराई क्षेत्रमा तत्काल ठूलो वर्षाको सम्भावना कम छ । 

मंगलबार रातिसम्म आंशिक बदली मात्र हुन सक्ने र पानी पर्ने सम्भावना कमजोर रहेको विभागले जनाएको छ । 

बुधबारबाट देशभर आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा हुन सक्छ । तर, बंगालको खाडीमा बलियो न्यूनचापीय प्रणाली विकास नभएसम्म ठोस राहत मिल्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ ।

जेठको अन्तिम सातापछि मात्र मनसुनले पूर्ण गति लिने र कोशी प्रदेशमा पनि प्रभावकारी रूपमा विस्तार हुने अनुमान छ ।

हाल पश्चिमी वायु अझै सक्रिय छ । यसले कमजोर मनसुनी वायुलाई रोकेर राखेको छ ।

पूर्वबाट आउने मनसुनी वायु र पश्चिमबाट बहने पश्चिमी वायुबीचको द्वन्द्वका कारण कोशी प्रदेशमा अधिक गर्मीको अवस्था सिर्जना भएको मौसम विज्ञान विभागको भनाइ छ ।

बंगालको खाडीमा पर्याप्त जलवाष्प बोकेर आउने बलियो प्रणाली बन्न बाँकी रहेकाले पनि वर्षा ढिलो भएको हो । यो वर्ष मनसुन चाँडो भित्रिए पनि परिपक्व हुन समय लागेको विभागको विश्लेषण छ । यसले तराईका जिल्लाहरूमा गर्मी लम्बिने जोखिम बढाएको छ ।

उच्च तापक्रमका कारण स्वास्थ्य समस्या पनि बढ्दै गएको चिकित्सकहरू बताउँछन् । 

कोशी अस्पतालका डा. रोशन खड्काका अनुसार लगातारको गर्मीले टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, रक्तचाप र श्वासप्रश्वासमा समस्या, छाला सुख्खा हुने, रिंगटा लाग्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन सक्छन् ।

गम्भीर अवस्थामा अचेत हुने जोखिम पनि रहन्छ । गर्मीबाट बच्ने उपाय अपनाउन खड्काले आग्रह गरेका छन् । 

चर्को घाममा घर बाहिर ननिस्कने, निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने, प्रशस्त मात्रामा पानी र फलफूलको रस पिउने, चिसो पानीले नुहाउने तर चिनीयुक्त पेय पदार्थ, चिया, कफी, सोडा र मदिरा कम गर्नुपर्ने उनको सुझाव छ ।  

शरीरमा छटपटी भए निधार, छाती र हातखुट्टामा चिसो पानीको पट्टी लगाउने र अरु स्वास्थ्य समस्या बढे तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुग्न उनको सुझाव छ । 

अत्यधिक गर्मीले विशेष गरी बालबालिका, वृद्ध र दीर्घरोगीहरूलाई बढी सताउने हुँदा सतर्क रहन चिकित्सकहरूले आग्रह गरेका छन् । 

जल तथा मौसम विज्ञान विभागले नियमित मौसम अद्यावधिक हेर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । यो गर्मीले कृषि, यातायात र दैनिक आर्थिक क्रियाकलापमा समेत प्रभाव पारिरहेको छ । 

विराटनगरसहित कोशी प्रदेशका बासिन्दालाई अझै केही दिन तातो मौसमको सामना गर्नुपर्ने सम्भावना रहेको मौसम विज्ञान विभाग बताउँछ । 

‘बुधबारपछि केही सुधारको आशा गर्न सकिने तर पूर्ण राहतका लागि बंगालको खाडीमा बलियो मौसमी प्रणालीको विकास कुर्नुपर्नेछ,’ मौसमविद अर्यालले भने ।

View : 143

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved