Biratnagar, Morang, Nepal
४ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

पूर्वाञ्चल आयललाई के हुन्छ कारवाही ?

उद्‌घोष संवाददाता
४ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । विराटनगर–६ स्थित पूर्वाञ्चल आयल सप्लायर्सबाट उपभोक्ता ठगिँदै आएको खबर सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय मोरङ र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले विराटनगरका विभिन्न पेट्रोल पम्पहरुमा अनुगमन गरेको छ ।

बुधबार विराटनगरको विराट नर्सिङ होम नजिकै रहेको द बिजया अटो सर्भिस, नयाँ बसपार्क अगाडिको अन्नपूर्ण सप्लायर्स, महेन्द्र चोकपूर्व रहेको रघुनाथ राय–राधाकृष्ण पम्प तथा विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टरमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा पूर्वाञ्चल आयल सप्लायर्समा जस्तो कैफियत अन्य पम्पमा फेला नपरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

सोमबार साँझ पूर्वाञ्चल आयल सप्लायर्समा गरिएको अनुगमनका क्रममा उपभोक्ता ठगिएको तथ्य सार्वजनिक भएपछि उपभोक्ताले विराटनगरका अन्य पेट्रोल पम्पमा समेत अनुगमन गर्न माग गर्दै आएका थिए । 

सोही मागअनुसार जिल्ला प्रशासन कार्यालय मोरङले सुमन कोइरालाको नेतृत्वमा अनुगमन टोली परिचालन गरेको हो ।

बुधबार गरिएको अनुगमनमा अन्य पम्पमा त्यस्तो कैफियत नभेटिए पनि अनुगमनलाई निरन्तरता दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यता, उपभोक्ता ठगी भएको प्रमाणित भएको पूर्वाञ्चल आयल सप्लायर्समाथि भने गुणस्तर तथा नापतौल कार्यालयले हालसम्म के कारबाही गरेको हो भन्ने स्पष्ट हुन सकेको छैन । 

सोमबार कार्यालयले तीन दिनको समय दिएको थियो । सो समयसीमा बिहीबार सकिँदैछ ।

उपभोक्ताबाट लाखौँ रुपैयाँ ठगी भएको आरोप प्रमाणित भएको पेट्रोल पम्पमाथि अब गुणस्तर तथा नापतौल कार्यालयले कस्तो कारबाही गर्छ भन्ने विषय उपभोक्ताको चासोको विषय बनेको छ ।

View : 77

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved