Biratnagar, Morang, Nepal
२५ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सरकारको बजेट पारित

उद्‌घोष संवाददाता
२५ असार २०८३, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सभामा पेश गरेको विनियोजन र आर्थिक विधेयकसँगै बार्षिक बजेट पारित भएको छ । 

कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३ बहुमतले पारित भएको छ । त्यस्तै अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ भने सर्वसम्मतिले पारित भएको हो । 

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन र आर्थिक विधेयक पारित भएको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू गोम्बु शेर्पा र सपना दर्जीले विनियोजन विधेयकमाथिका बेग्लाबेग्लै शीर्षकमा राखेको खर्च कटौतिको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । सभामुख अम्बरबहादुर विष्टले विनियोजन विधेयक बहुमत र अर्थ विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट पारित भएको हो । तर सत्ता पक्षकै सांसदहरूले विनियोजनप्रति चर्को असन्तुष्टि जनाएर विरोधमा उत्रिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन पटक प्रदेश सभाको बैठक सार्नु परेको थियो । 

सत्ता पक्षकै सांसदहरूको विरोधलाई मत्थर पार्न मुख्यमन्त्री कार्कीले संसदभन्दा बाहिरको प्रक्रियाबाट बजेट संशोधन गर्ने प्रक्रिया अघि बढाउने आवश्यक दिएका थिए । तर त्यसमा प्रमुख प्रतिपक्षी दल नेकपाले विरोध जनाएको थियो ।

बुधबार बजेट पारित गर्नका लागि सत्ता पक्षको नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूलाई दुवै दलको तर्फबाट ह्वीप जारी गरेका थिए । दुवै दलले आफ्ना सांसदहरूलाई बजेटको पक्षमा ह्वीप लगाएका कारण उनीहरूले प्रस्तावको पक्षमा मत दिएपछि बजेट पारित भएको हो ।

View : 32

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved