Biratnagar, Morang, Nepal
१९ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीबीएस बीचैमा छाड्ने प्रवृत्ति बढ्दो

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा चार वर्षको बीबीएस अध्ययन अवधिमा विद्यार्थीको संख्या ठूलो मात्रामा घटेको देखिएको हाे ।
उद्‌घोष संवाददाता
१८ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । त्रिभुवन विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रममध्ये व्यवस्थापन संकायअन्तर्गत व्यावसायिक अध्ययन (बीबीएस) मा विद्यार्थीको चाप उच्च रहे पनि अध्ययनलाई निरन्तरता दिने विद्यार्थीको संख्या भने उल्लेख्य रूपमा घट्ने गरेको पाइएको छ ।


व्यवस्थापन संकायअन्तर्गत दुई दर्जनभन्दा बढी शैक्षिक कार्यक्रममा अध्ययनरत कुल विद्यार्थीमध्ये बीबीएसका विद्यार्थीको संख्या मात्रै ५० प्रतिशतभन्दा बढी  अवस्थामा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा भने चार वर्षको अध्ययन अवधिमा विद्यार्थीको संख्या ठूलो मात्रामा घटेको देखिएको हो ।

 


२०७८ सालमा बीबीएस प्रथम वर्षमा करिब १ हजार १ सय विद्यार्थी भर्ना भएर अध्ययन सुरु गरेका थिए ।

तेस्रो वर्षसम्म आइपुग्दा करिब ३५० विद्यार्थीले परीक्षा दिएका थिए ।

 

चाैथाे वर्षकाे प्रतिवेदन लेखनको अन्तरवार्तामा आइपुग्दा २०५ जना मात्र सहभागी 

चौथो वर्षमा २५५ जनाले परीक्षा फाराम भरेका थिए भने चौथो वर्षको अनिवार्य प्रतिवेदन लेखनको भाइभासम्म आइपुग्दा २०५ जना मात्र सहभागी भएका छन् ।


चौथो वर्षको ५० पूर्णाङ्कको व्यावसायिक अध्ययन विषयअन्तर्गत प्रतिवेदन लेखनका लागि २४३ विद्यार्थीले प्रस्ताव पेश गरेका थिए ।

तीमध्ये २१२ जनाले प्रतिवेदन बुझाएका थिए ।

 

प्रतिवेदनको प्रस्तुतीकरण तथा अन्तरवार्ता (भाइभा) मा २०५ जना सहभागी भई सफल भएका हुन् ।


यसरी हेर्दा प्रथम वर्षमा भर्ना भएका करिब १ हजार १ सय विद्यार्थीको तुलनामा चौथो वर्षको प्रतिवेदन लेखनको भाइभासम्म पुग्ने विद्यार्थीको संख्या २०५ मा सीमित भएको छ ।

 

विद्यार्थी भर्नाको चाप उच्च भए पनि चार वर्षको अध्ययन अवधिमा ठूलो संख्यामा विद्यार्थीले अध्ययनलाई निरन्तरता नदिएको तथ्यांकले देखाएको छ ।


बीबीएस चौथो वर्षमा कुल ५०० पूर्णाङ्कका ६ वटा विषय छन् । अनिवार्यतर्फ उद्यमशीलता तथा उद्यम विकास १०० पूर्णाङ्क, व्यावसायिक अनुसन्धान विधि ५० पूर्णाङ्क र अन्तिम परियोजना कार्य ५० पूर्णाङ्कको  छ । बाँकी ३०० पूर्णाङ्क विशेषीकरणतर्फका तीन विषयमा विभाजित छन् ।

विद्यार्थीले लेखाशास्त्र, वित्त, बजारशास्त्र वा व्यवस्थापन समूहबाट विशेषीकरण विषय छनोट गर्न पाउने व्यवस्था छ ।


बीबीएस अनुसन्धान समितिका अध्यक्ष डा. उद्धव पोखरेल तथा सदस्यद्वय शिवचन्द्र चौधरी र डा. विनोद श्रेष्ठले प्रतिवेदन लेखनमा विद्यार्थीलाई सहजीकरण गरेका थिए ।

No photo description available.

व्यवस्थापन संकायका सहायक प्रमुख शिवनारायण चौधरीले प्रतिवेदन लेखन तथा भाइभा प्रक्रियाको अनुगमन गरेका थिए ।

व्यवस्थापन संकायका कर्मचारी प्रमुख विनोद कामतको समन्वयमा प्रतिवेदन लेखन तथा अन्तरवार्ता प्रक्रिया सम्पन्न भएको हो ।


त्रिविमा व्यवस्थापन शिक्षा अध्ययन गर्ने विद्यार्थीको ठूलो हिस्सा बीबीएसमा केन्द्रित रहेको अवस्थामा बीचमै अध्ययन छाड्ने प्रवृत्ति देखिनुले विद्यार्थी टिकाइको अवस्था, अध्ययन छाड्नुका कारण तथा बीबीएस शिक्षालाई विद्यार्थीमैत्री बनाउन आवश्यक सुधारबारे गम्भीर समीक्षा गर्नुपर्ने देखिएको छ ।

 

View : 92

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved