विराटनगर । बेलायतको ‘मास्टरशेफः द प्रोफेशनल्स’ बाट अन्तर्राष्ट्रिय पहिचान बनाएका सेफ सन्तोष शाहले प्रवद्र्धन गरेको ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डको चेन रेष्टुराँ विराटनगरमा सञ्चालनमा आएको छ ।
मिथिला संस्कृति र खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ एउटै छानामुनि ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ लाई समेटेर नयाँ आउटलेट संचालनमा ल्याइएको हो ।
विराटनगर महानगरपालिका–३ दूधफारामको ठीक अगाडि खोलिएको रेष्टुराँको ‘सफ्ट ओपनिङ’ बुधबार गरिएको छ ।
रेष्टुरेराँमय बन्दै गएको कोशी हाइवे क्षेत्रमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ को उपस्थितिले अझ गति प्रदान गर्ने भएको हो । यस आउटलेटमा प्रारम्भिक चरणमा भित्र र बाहिर गरी करिब एक सय जनासम्मको ‘सिटिङ’ व्यवस्था रहने जनाइएको छ ।
आगामी दिनमा अझै क्षमता विस्तार गरी २५० जनासम्म पुर्याउने योजना रहेको विराटनगर आउटलेटका स्थानीय साझेदार युवराज ढकालले जानकारी दिए ।
रेष्टुराँको सजावट मिथिला आर्टमा आधारित रहेको छ । मिथिला क्षेत्रकै कलाकारहरूले तयार पारेका आकर्षक कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन् ।
ग्राहकले ती कलाहरू खरिद गरेर कलाकारलाई आर्थिक सहयोग गर्न सक्ने जनाइएको छ ।
रेष्टुराँमा पान, सातु, लस्सी तथा बास्किन रबिन्स आइसक्रिमका स्टलहरू पनि जनकपुरको थिममा तयार पारिने जनाइएको छ ।
‘मास्टरसेफ सन्तोष शाहका अनुसार मिथिला खाना तथा कला संस्कृतिको प्रवद्र्धनका लागि ‘मिथिला थाली’ सञ्चालनमा ल्याइएको हो । आफू बाल्यकालदेखि नै यस संस्कृति र खानपानसँग जोडिएको अनुभवलाई अहिले व्यावसायिक रूपमा विस्तार गरिरहेको उनले जानकारी दिए ।
विराटनगरको नयाँ आउटलेटमा मिथिला क्षेत्रका परिकारलाई केन्द्रमा राख्दै ‘मिथिला थाली’ मुख्य आकर्षणका रुपमा प्रस्तुत गरिएको हो ।
यसअन्तर्गत चोखा, भात, घ्यू रोटी, तरुवा, तिलौरी, सलादलगायतका परिकार समावेश गरिएका छन् ।
त्यसैगरी ‘जनकपुर फिस हाउस’ मा माछाका करिब १० प्रकारका परिकार उपलब्ध हुनेछन् ।
स्पेशल तावा फिस अर्डर गर्दा सानो जनकपुरी मुरी (साँदेको खट्टे) र मुलाको अचारसँगै पस्किने व्यवस्था गरिएको छ । ट्राउट, झिंगे माछा, फिस चिली र फिस सेट जस्ता परिकारहरू पनि जनकपुरको परम्परागत स्वाद र शैलीमा तयार पारिने जनाइएको छ ।
नयाँ आउटलेटले स्थानीय ग्राहकसँगै भारतीय ग्राहकलाई पनि लक्षित गरिएको स्थानीय साझेदार ढकालले बताए । मूल्य दर समेत सर्वसाधारणले सहज रूपमा उपभोग गर्न सक्ने स्तरको रहेको बताए ।
विराटनगर क्षेत्रमा मेडिकल कलेजहरूको संख्या वृद्धि, भारतीय विद्यार्थीहरूको आवागमन तथा मेडिकल टुरिज्म विस्तारसँगै होटल तथा रेस्टुराँ व्यवसाय बढ्दो क्रममा रहेको र प्रदेश सरकारले पनि पर्यटन प्रवद्र्धनमा पहल गरिरहेको अवस्थामा चेन रेष्टुराँलाई विराटनगरसम्म ल्याइएको जनाइएको छ ।
त्यस्तै, पछिल्लो समय होटल तथा रेस्टुरेन्ट क्षेत्रमा भइरहेको तीव्र वृद्धि, पाँचतारे होटलदेखि अन्तर्राष्ट्रिय चेनसम्मको विस्तारले विराटनगरलाई अझ चिनाउँदै लगेको छ । यस्तो अवस्थामा विराटनगरलाई रेस्टुराँको पनि राम्रो गन्तव्यका रुपमा विकास गर्ने सम्भावना देखिएको मास्टरसेफ शाहले बताए ।
सेफ शाह पछिल्लो समय अमेरिका, युरोप, न्युजिल्यान्ड, अष्ट्रेलिया र जापानसम्म नेपाली रैथाने परिकारको पप–अप शो गर्दै आएका छन् । ती कार्यक्रममा उनले विभिन्न समुदायका करिब डेढ दर्जन मौलिक परिकार प्रस्तुत गर्ने गरेका छन् । जसको अन्तर्राष्ट्रिय माग बढ्दो रहेको छ ।
स्वदेशमा भने उनले ‘मिथिला थाली’ ब्रान्ड विस्तारमा जोड दिएका हुन् । जनकपुरमा सुरु गरिएको ‘मिथिला थाली’ पछि काठमाडौंको झम्सिखेल, नक्साल र गौशालामा पनि आउटलेट विस्तार भइसकेको जनाइएको छ ।
View : 329
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved