Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेसमा महाधिवेशनको सकस, सिटौलाविरुद्ध अर्यालले खोले फायर

झापाली नेता सिटौला, वीपीपुत्र सशांक कोइरालासहितका कांग्रेस संस्थापन पक्षका ६ जना नेताहरु फागुन २१ को निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नहुने पक्षमा छन् । नियमित महाधिवेशन टार्न हरसम्भव प्रयास गरिरहेको संस्थापन पक्षले विशेष महाधिवेशन माग्ने महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरलाई समेत चरम बेवास्ता गरिरहेको छ ।
उद्‌घोष संवाददाता
२१ कार्तिक २०८२, शुक्रवार

विराटनगर । जेनजी विद्रोहपछि रक्षात्मक अवस्थामा पुगेका राजनीतिक दलहरु यतिबेला तीव्र दबाबमा छन् । नेतृत्व पुस्तान्तरणसहित पार्टीहरु रुपान्तरण हुनुपर्ने माग चर्केको बेला नेपाली कांग्रेसभित्र पेचिलो द्वन्द्व चलिरहेको छ । 

यो द्वन्द्वमा कोशीबाट कांग्रेस केन्द्रमा प्रतिनिधित्व गर्ने धेरै नेताहरुले आफूलाई रुपान्तरणको पक्षमा उभ्याए पनि केही नेताहरु भने यथास्थितिकै पक्षमा उभिएका छन् । 

तिहारअघि नै सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै जारी छ । केन्द्रीय सदस्य भीम पराजुलीले दिएको जानकारी अनुसार केन्द्रीय समिति बैठक अझै केही दिन चल्ने सम्भावना छ । अहिलेसम्म बैठकमा धारणा राखेका नेताहरुको अभिव्यक्तिले उनीहरु कुन कित्तामा उभिएका छन् भन्ने देखाएको छ । 

कोशीबाट केन्द्रमा प्रतिनिधित्व गर्नेहरुमध्ये महामन्त्री विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला, सहमहामन्त्री भीष्मराज आङदम्बे, अमृत अर्याल, राजीव कोइराला सहितका धेरै नेताहरु फागुन २१ को चुनावअघि नै महाधिवेशन गरेर निर्वाचनमा जानुपर्ने पक्षमा उभिएका छन् । तर, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु भने महाधिवेशन गर्न नहुने पक्षमा छन् । 

झापाबाट राजनीतिक यात्रा थालेर गिरिजाप्रसाद कोइरालाको आशीर्वादमा शक्ति आर्जन गरेका नेता हुन् कृष्णप्रसाद सिटौला । पूर्वमहामन्त्री उनै सिटौलामाथि यतिबेला कांग्रेस महाधिवेशन टार्ने प्रपञ्च गरेको आरोप लागिरहेको छ । 

पार्टी रुपान्तरणका पक्षमा आफूलाई उभ्याएका दुवै महामन्त्रीविरुद्ध निरन्तर बोल्दै आएका र महाधिवेशन हुनै नसक्ने बताउँदै आएका सिटौलाविरुद्ध केन्द्रीय समितिमा अर्का नेता अमृत अर्यालले फायर खोलेका छन् ।

यही क्रममा कोशीका नेताहरुमध्ये मोरङका अमृत अर्यालले आफूलाई महाधिवेशनका पक्षमा उभ्याउँदै छेक्न खोज्ने नेता सिटौलाविरुद्ध निशाना साँधेका हुन् ।

झापाली नेता सिटौला, वीपीपुत्र सशांक कोइरालासहितका कांग्रेस संस्थापन पक्षका ६ जना नेताहरु फागुन २१ को निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नहुने पक्षमा छन् । नियमित महाधिवेशन टार्न हरसम्भव प्रयास गरिरहेको संस्थापन पक्षले विशेष महाधिवेशन माग्ने महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरलाई समेत चरम बेवास्ता गरिरहेको छ ।

बिहीबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता अमृत अर्यालले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेकोले त्यसलाई कसैले पनि स्वीकार्दिन भन्न नमिल्ने उल्लेख गर्दै विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेको बताए ।

सिटौलातिर सोझै निशाना साँध्दै अर्यालले भने ‘कृष्ण सिटौला दाइले बोल्ने क्रममा हस्ताक्षर गरेर ल्याएका छन्, स्वीकार्य हुन्न भन्ने हिसाबले बोल्नुभयो, उहाँ जस्ता मानिसले यस्तो बोल्नु हुँदैनथ्यो । तिनै महाधिवेशन प्रतिनिधिले सभापतिमा शेरबहादुर देउवालाई ६० र शेखर कोइरालालाई ४० प्रतिशत मत दिएको होइन ? उपसभापतिहरू जिताएको होइन ? महामन्त्रीहरू र सहमहामन्त्रीहरू जिताएको होइन ? त्यसबेला उनीहरू वैध, अहिले अवैध ? नेतृत्वमा रहेकाहरूले समस्याको निकास खोज्नुपर्ने होइन ? यस्ता अभिव्यक्ति दिने ?’ 

विगतमा आफूलाई निर्वाचित गराउन भूमिका खेलेका तिनै महाधिवेशन प्रतिनिधिलाई अहिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरे भन्दैमा अवैध भन्न नमिल्ने उनको भनाइ थियो । 

‘विशेष महाधिवेशन अभियान सञ्चालन गर्दा तिनै महाधिवेशन प्रतिनिधि असत्य ? स्वीकार्य हुन्न उनीहरूका हस्ताक्षर भन्ने ?’, उनले भने, ‘कृष्ण दाइकै क्षेत्रमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् ।

कोशी प्रदेशमा ७४ प्रतिशतले हस्ताक्षर गरेका छन् । यसलाई पेलेर जान सक्ने अवस्था छ त ?’ उनले अगाडि बसेका नेताहरू पूर्णबहादुर खड्का, गगन थापा, शेखर कोइरालाहरू नै अब सभापतिमा लड्ने भन्दै आफू र अहिले हस्ताक्षर गर्नेहरू मतदाता मात्रै रहने उल्लेख गरे ।

कोशी प्रदेशसभा सदस्यसमेत रहेका नेता अर्याल कुनै बेला सभापति शेरबहादुर देउवा निकट मानिन्थे । पछिल्लो समय उनी महामन्त्री गगन थापा निकट बनेका छन् ।

देउवासँगै मिलेर नेता सिटौलाले पनि भागबन्डामा फाइदा लिंदै आएका छन् । महाधिवेशन भए उनले लिंदै आएको फाइदा गुम्ने भयले सिटौला डराएको झापाकै नेताहरु बताउँछन् । 

‘उनकै गृहजिल्ला झापामा ६२ प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन्’, झापा कांग्रेसका एक नेताले उद्घोषसँग भने ‘महाधिवेशन भए अहिलेका महामन्त्रीहरु शक्तिमा आउने डरले उनी महाधिवेशन टार्ने खेलमा लागेका हुन् । समय सकिएका सिटौलाहरुको बन्धक पार्टी बन्न हुन्न ।’ 

मोरङका नेता अर्यालले पनि बैठकमा सोझै नभने पनि घुमाउरो रुपमा त्यही कुरा भनेका छन् ।

‘तपाईं माओवादीसँग गठबन्धन गर्दा पनि झापाबाट चुनाव हार्नु भयो । अहिले राष्ट्रिय सभामा ल्याइएको छ’, अर्यालले भने ‘तपाईंलाई सिट छाड्नुपर्दा एक जना नेताको अवसर गुमेको छ । अहिले यति ठूलो परिवर्तन आत्मसाथ गरेर अघि बढ्नुको साटो महाधिवेशन रोक्न तपाईं लाग्नु भएको छ । यो ठीक भएन ।’ 

अहिले कुनै पनि हालतमा नियमित वा विशेष महाधिवेशन हुन्न, बैशाखमा हुन्छ भनेर नेताहरूले अभिव्यक्ति दिएको भन्दै अर्यालले यसलाई प्रतिष्ठाको विषय नबनाई समाधान खोज्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 
‘नियमित वा विशेष जे गरे पनि समयमै महाधिवेशन गरौं र हामीले गल्ती गरेका छौं सच्चिएर अघि बढौं’ उनले भने । 

यसअघि केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै सहमहामन्त्री भीष्मरान आङदम्बेले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने बताएका थिए । 

केन्द्रीय समितिमा उनले बोलिसकेका छैनन् । बिहीबार बोलेका ओखलढुंगाका प्रदीप सुनुवारले प्रष्ट विचार राखेनन् । जे गरे पनि सहमतिमा गर्नुपर्ने उनको भनाइ थियो । मोरङकै नेता भीम पराजुलीले बैठकमा बोलेका छैनन् । तर, उनी पनि अहिलेसम्म मध्यमार्गी कुरा गरिरहेका छन् । 

‘टोलदेखि केन्द्रीय समितिसम्म आइपुग्दा सात तहको अधिवेशन गर्नुपर्ने हुन्छ’, उनले उद्घोषसँग भने ‘यस्तोमा पहिले क्रियाशील सदस्यताको विषय टुंग्याऔं अनि निर्णय गराैं भन्ने लाग्छ मलाई ।’ 

कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको मागसहित हस्ताक्षर अभियानको नेतृत्व गरेका मोरङकै नेता गुरुराज घिमिरे भने केन्द्रीय समितिले पुसमा नियमित महाधिवेशन गर्ने निर्णय नगरे विशेष महाधिवेशनको विकल्प नभएको बताउँछन् । 

‘केन्द्रीय कार्यसमितिको निर्णय र निष्कर्ष के हुन्छ, त्यसमा धेरै कुरा निर्भर हुन्छ,’ घिमिरेले भने ‘केन्द्रीय कार्यसमितिले अपनाउने कार्यशैली र निर्णयले निर्धारण गर्नेछ । हामी चार वर्षको समयसीमाभित्र महाधिवेशन चाहन्छौं—नियमित होस् वा विशेष ।’

View : 571

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved