शून्यबाट शतप्रतिशत सफलता
विराटनगर । कुनै समय माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शून्य प्रतिशत नतिजा ल्याएपछि बन्द गर्नुपर्ने आवाज उठेको विराटनगर–२, शंकरपुरस्थित जनता नमुना माध्यमिक विद्यालयले अहिले शैक्षिक क्षेत्रमै लोभलाग्दो फड्को मारेको छ ।
सही नेतृत्व र सामूहिक प्रयास हुने हो भने सामुदायिक विद्यालयले कसरी काँचुली फेर्न सक्छन् भन्ने गतिलो उदाहरण साे विद्यालय बनेको छ ।
सोमबार प्रकाशित यस वर्षको एसईई परीक्षाफलमा विद्यालयबाट परीक्षामा सहभागी सम्पूर्ण ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
जसमा ३.६९ अङ्कको उच्चतम जीपीएसमेत प्राप्त भएको छ । तीन वर्षअघि कोही पनि विद्यार्थी उत्तीर्ण हुन नसकेर 'शून्य' नतिजा व्यहोरेको विद्यालयको यो सफलतालाई अभिभावक तथा शिक्षाप्रेमीहरूले उदाहरणीय मानेका छन् ।
तीन वर्ष अगाडि शून्य नतिजापछि विद्यालय गम्भीर संकटमा थियो । तर, विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोजविक्रम शाह आएपछि सुधारको वृहत् अभियान सुरु भयो। नेतृत्व परिवर्तनसँगै विद्यालयमा शैक्षिक सुधारका नयाँ र प्रभावकारी योजनाहरू लागू गरिए ।
साे अभियानमा पूर्व विद्यार्थीहरूले पनि दरिलो साथ दिए। पूर्व विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष डा मनोज राउतको अगुवाइमा एसईई दिने विद्यार्थीहरूलाई लक्षित गर्दै विद्यालयमा निःशुल्क कोचिङ कक्षा सञ्चालन सुरु भयो ।
व्यवस्थापन समितिको सक्रियता, शिक्षकहरूको मेहनत र पूर्व विद्यार्थीको साथको फलस्वरूप गत वर्षको एसईईमा एक जनाबाहेक सबै विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष शतप्रतिशत विद्यार्थीले सफलता चुमेका छन् ।
'शून्यदेखि यहाँसम्मको यात्रा गौरवपूर्ण' विद्यालय सुधार अभियान सुरु गरेको आज तीन वर्ष पूरा भएको अवसरमा प्रधानाध्यापक चिन्तामणि रिजालले यो सफलतालाई सम्पूर्ण विद्यालय परिवारको गौरवको विषय भएको बताएका छन् ।
"शून्यबाट सुरु गरिएको यो यात्रालाई यहाँसम्म ल्याइपुर्याउन शिक्षकहरूको अथक मेहनत, विद्यालय व्यवस्थापन समितिको सक्रिय भूमिका, पूर्व विद्यार्थीहरूको साथ, समुदायको विश्वास, वडा कार्यालय तथा महानगरपालिकाको सकारात्मक सहयोग अत्यन्तै महत्वपूर्ण रह्यो," प्रधानाध्यापक रिजालले भने ।
अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले विद्यालयलाई थप उत्कृष्ट गन्तव्यमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले एसईई उत्तीर्ण सम्पूर्ण ५७ जना विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामनासमेत दिएका छन् ।
विद्यालयको यो कायापलटबाट अभिभावकहरू अत्यन्तै हर्षित छन् । "सही नेतृत्व भएमा विद्यालयमा परिवर्तन सम्भव छ भन्ने कुरा जनता माविको एसईईको परिणामले प्रमाणित गरेको छ," एक अभिभावक रामकुमारले खुशी व्यक्त गर्दै भने ।
View : 1600
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved