Biratnagar, Morang, Nepal
१ चैत २०८२, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नियमित आयात भइरहँदा पनि बजारमा एलपी ग्यासको अभाव !

उद्‌घोष संवाददाता
३० फागुन २०८२, शनिवार

विराटनगर । शुक्रबारदेखि अब उपभोक्ताले आधा सिलिन्डर ग्यास मात्र पाउने भएका छन् । बजारमा एलपी ग्यासको चर्को माग धान्न सरकारले यो उपाय निकाले पनि नेपालमा ग्यास आयात भने नियमित नै भइरहेको पाइएको छ । 

भारतबाट पनि माग बमोजिम ग्यास आपूर्ति भइरहँदा के कारण बजारमा ग्यास अभाव देखियो भन्ने कुरामा सरकारले ध्यान नदिई उपभोक्ताका लागि आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णयले सरकार आफैँ उपभोक्ता तर्साउन अग्रसर देखिएको हो ।

इन्डियन ओयल कर्पोरेसन (आईओसी) ले नेपालले भनेजति खाना पकाउने ग्यास (एलपीजी) पठाइरहेको तथ्यांकले देखाएको छ ।

गत पुस, माघ र यो फागुन महिनामा मात्रै १ लाख ४० हजार ३ सय ९२ टन एलपीजी नेपाल भित्रिएको उल्लेख छ ।

पुसमा ४७ हजार ४ सय ६०, माघमा ४६ हजार २ सय ८४ र फागुनमा अहिलेसम्म ४६ हजार ६ सय ४८ टन ग्यास नेपाल भित्रिएपनि किन यसरी ग्यास अभाव भयो भन्नेमा सरकार बेखबर देखिएको हो । जबकि नेपालको औसत माग मासिक ४५ हजार टनभन्दा पनि कम रहँदै आएको छ ।

उपभोक्तालाई पुग्ने गरी ग्यास भित्रिरहँदा पनि किन हाहाकार भइरहेको छ र सरकार आधा सिलिन्डर मात्र भरेर पठाउने अवस्थामा कसरी आइपुग्यो भन्ने विषयमा जवाफदेही बन्न नसकेको हो ।

देशभर अहिले खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । उपभोक्तामा ग्यास नपाइने त्रास र चिन्ता बढ्दै गएको छ । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।

उपभोक्ताहरूले एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको उनीहरूको भनाइ छ ।

ग्यास विक्रेताको ग्यास सिलिण्डरको लामो लाइन लागेको छ । २० दिनदेखि ग्यासका लागि पालो कुर्दा समेत ग्यास पाउन नसकेको विराटनगरको बुद्धचोककी अमृता घिमिरेले बताइन् ।

नियमित भान्छा चलाउन ग्यास नपाउने अवस्था आउँदा धेरै मानिसहरुको दैनिकी विस्तारै जटिल बन्ने देखिएको छ ।

ग्यास विक्रेताले भने ग्यासको कम्पनीबाटै पर्याप्त ग्यास उपलब्ध नगराउँदा अभाव देखिएको जवाफ दिन थालेका छन् । 

केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले त्यस्तो अवस्था नरहेको भन्सार स्रोतले जनाएको छ ।

दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी रहेको छ ।

पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको विक्रेताहरु बताउँछन् । 

नेपालको सिमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ ग्यास सिलिण्डर लैजाने प्रयाससमेत बढेको पाइएको छ ।

भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले सीमावर्ती क्षेत्रका नेपालबाट ग्यासका सिलिण्डर भारततर्फ तस्करी भइरहेको सीमा क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् ।

View : 62

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved