Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

गंगाविशन राठी हत्या प्रकरण

११ वर्षपछि फैसला, दुईलाई आजीवन कारवास

उद्घोष सम्वाददाता
१४ वैशाख २०८१, शुक्रवार

विराटनगर । विराटनगर पोखरियाका गंगाविशन राठीको हत्या भएको ११ वर्षपछि भारतको एक अदालतले सजाय सुनाएको छ ।

भारत पश्चिम बंगालको सिलगुडी अदालतले यही अप्रिल २५ अर्थात् बैशाख १३ गते उक्त निर्मम हत्याकाण्डका दुई अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको छ । घटनामा संलग्न एक महिलालाई अदालतले ६ महिना कैद सजाय सुनाएको छ ।

विराटनगर स्थायी घर भई उद्योग, व्यवसाय सञ्चालन गर्दै आएका,  सामाजिक क्षेत्रमा पनि क्रियाशील गंगाविशन राठीको ११ वर्षअघि अपहरण भएको थियो । अपहरणकारीले राठीसँगै विराटनगरका चन्द्र चुँडाललाई अपहरण गरेका थिए । अपहरणपछि दुबै जनाको हत्या भएको मुद्दामा सिलगुडी अदालतले ११ वर्षपछि फैसला सुनाएको हो ।

सिलगुडी अदालतको अतिरिक्त जिल्ला सत्र प्रथम अदालतकी न्यायाधीश अनिता मल्होत्राको इजलासले घटनाका मुख्य आरोपी सुरेन्द्र मिश्रा र अभिजित बोसलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ ।

त्यस्तै मुख्य आरोपी सुरेन्द्र मिश्राकी श्रीमती मोनिका मिश्राको स्वास्थ्य खराब भएका कारण उनलाई ६ महिना कैद सजाय सुनाएको छ ।

चौथो अभियुक्त राजीव राईको भने हत्यामा कुनै भूमिका नभएको पाइएपछि सम्मानपूर्वक रिहाइको फैसला सुनाएको मुद्दाका एक पक्ष राठी परिवारले जानकारी दिएको छ ।

विराटनगरका व्यवसायी गंगाविशन राठी र तत्कालीन समयमा शिव सेना नेपालका अध्यक्ष उल्लेख गर्ने चन्द्र चुँडालको वि.सं. २०६९ पुस २६ गते अपहरण भएको घटना सार्वजनिक भएको थियो ।

भारतको सिलिगुडीमा एउटा बैठकमा सहभागी हुन गएका उनीहरूको २४ दिनपछि अर्थात् माघ २६ गते सिलीगुडीदेखि १६ किलोमिटर टाढा सुकुना वन क्षेत्रमा क्षतविक्षत अवस्थामा शव फेला परेको थियो । उनीहरूलाई अपहरण गरी हत्या गर्ने समूहलाई भारतीय प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

त्यसबेलाका घटना विवरणअनुसार, ८ जनवरी २०१३ मा नेपालका गंगाविशन राठी र चन्द्र चुँडाल सिलगुडी गएका थिए । त्यसपछि ११ जनवरीमा राठीका छोरा हरिवंश राठीलाई अपरिचित नम्बरबाट फोन गएको थियो ।

फोन गर्नेले उनका बुवा र साथी चन्द्र चुँडाल अपहरणमा परेको बताए । अपहरणकारीले दुवैलाई रिहा गर्न ५० लाख रुपैयाँ मागेका थिए । त्यसपछि हरिवंश राठीले आफ्ना बाबुलाई अपहरणकारीको चंगुलबाट छुटाउन नेपालबाट सिलगुडी गएर ५० लाख रुपैयाँ फिरौती दिएका थिए । यसपछि पनि अपहरणकारीले दुबैलाई रिहा गरेनन् ।

पछि हरिवंश राठीले सिलगुडी प्रहरी चौकीमा अपहरणको लिखित उजुरी दिएका थिए । घटनाको अनुसन्धान गर्दै सिलगुडी पुलिस स्टेशनले मोबाइल टावर लोकेशन र बोलपुर पुलिसको सहयोगमा दार्जिलिङ मेल ट्रेनबाट अपहरण गर्ने दुईजना सुरेन्द्रकुमार मिश्र र अभिजित बोसलाई पक्राउ गरेको थियो ।

सोधपुछका क्रममा अपहरणकारीले दुवैको हत्या गरी जंगलमा फालिएको स्वीकार गरेका छन् । त्यसपछि फागुन २ गते प्रहरीले सुकना जंगलबाट गंगाविशन राठी र चन्द्र चुँडलको शव फेला पारेर पोष्टमार्टमका लागि पठाएको थियो ।

सोही क्रममा प्रहरीले आरोपी सुरेन्द्र मिश्रको माटिगारा घरबाट मृतक राठीको माला उनकी श्रीमती मनिका मिश्रबाट बरामद गरेको थियो ।

त्यसपछि प्रहरीले दोहोरो हत्याकाण्डका सुरेन्द्र मिश्र, उनकी श्रीमती मोनिका मिश्रा, अभिजित बोस र चौथो आरोपी राजीव राईलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो ।

करिब ११ वर्षसम्म सिलगुडी अदालतमा यो मुद्दा चलेपछि न्यायाधीशले ४६ जनाको बयान सुनेको बताइएको छ ।

View : 244

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved