सुन्दरहरैंचा । दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन् ।
जनसहयोग माध्यमिक विद्यालय, इटहरी–२० तरहराको २०५० सालको एसएलसी समूहले शनिबार आयोजना गरेको प्रतियोगितामा साहले ‘मौनता’ शीर्षकको कविता वाचन गर्दै ५१ हजार ५५५ रुपैयाँ नगदसहित प्रथम स्थान हासिल गरेका हुन् ।
प्रतियोगितामा ‘चिडियाखाना’ शीर्षकको कवितासहित मकवानपुरका सुवास सजल द्वितीय तथा ‘बारुद’ शीर्षकको कवितासहित इलामका ऋजन मायालु तृतीय भएका छन् । उनीहरूले क्रमशः ४१ हजार ५५५ र ३१ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
अन्तिम चरणका लागि छनोट भएका अन्य सात प्रतिस्पर्धी अनिल सुवेदी (धनकुटा), कल्पना मरासिनी (अर्घाखाँची), टीकाराम कार्की (मोरङ), प्रचुर अभाव (झापा), प्रज्ञा निरौला (सोलुखुम्बु), विश्वराम खत्री (भक्तपुर) र सवि मेवाहाङ (सुनसरी)लाई जनही ५ हजार ५५५ रुपैयाँ ‘सिर्जनशील पुरस्कार’ प्रदान गरिएको थियो ।
कवि मनु मञ्जिलका अनुसार देशभरबाट प्राप्त ५४७ कवितामध्ये उत्कृष्ट १० जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो ।
प्रतियोगिताको निर्णायक समितिमा कविहरू राजा पुनियानी, भूषिता वशिष्ठ र हेमन यात्री रहेका थिए ।
वरिष्ठ कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्यता भएको सो कार्यक्रममा सर्जक महेशबाबु तिम्सिनाद्वारा लिखित कविता संग्रह ‘अक्षरहरूको क्यानभास’ को विमोचनसमेत गरिएको थियो ।
आयोजक समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार आफना दिवङ्गत मित्र नारायणप्रसाद पौडेलको स्मृतिमा गत वर्षदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेका अनुसार सोही अवसरमा कविहरू राजा पुनियानी, देवान किराती, भूषित वशिष्ठ, हेमन यात्री, चन्द्र गुरुङ, टीका आत्रेय र धिरज राईले कविता वाचन गरेका थिए ।
View : 127
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved