Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
वातावरण

‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’

उद्‌घोष सम्वाददाता
११ मंसिर २०८१, मङ्गलवार

काठमाडौँ, ११ मङ्सिर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुजन्य समस्या समाधान गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

वन्यजन्तु सरक्षण सङ्घ नेपालले यहाँ आयोजना गरेको ‘नेपालमा चक्रिय अर्थतन्त्र तथा दिगो भविष्यतर्फ रूपान्तरण’ नामक सम्मेलनको उद्घाटन गर्दै मन्त्री शाहीले जलवायुजन्य सङ्कट सामना गर्न समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले जलवायु परिवर्तनका कारण बाढीपहिरो, डुबान, हिमपहिरो, हिमताल विस्फोट, हिउँ पग्लने, पानीको मुहान सुक्ने, अतिवृष्टि र अनावृष्टि जस्ता समस्याले विश्वकै अर्थतन्त्रमा असर गर्ने भएकाले जलवायुजन्य असर न्यूनीकरणका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिए ।

“हामीले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि पनि संरक्षणमा काम गर्ने सबै दातृ निकायको सहयोग आवश्यक छ,” उनले भने, “अहिले जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा छ ।”

केही दिनअघि बाकुको अजरबैजानमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप २९) पनि जलवायु परिवर्तनले पुर्याएको असर र समाधानका लागि नेपालले  पैरवी गरेर आएको मन्त्री शाहीले बताए । 

वन्यजन्तु सरक्षण सङ्घ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सुभासचन्द्र खरेलले आजदेखि सुरु भएको सम्मेलन भोलि बुधबार सकिने जानकारी दिए ।

“सम्मेलनले सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज र शैक्षिक जगतलाई एकसाथ अनुभव साट्न र नेपालको चक्रिय अर्थतन्त्र अभ्यासलाई प्रवर्द्धन गर्न सहकार्य तथा समन्वयात्मक मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ,” उनले भने, “सम्मेलनले नेपालको चक्रिय अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने साझेदारीलाई बढवा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।”

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, दातृ निकायका प्रतिनधि, विभिन्न सङ्घ संस्था, चक्रिय अर्थतन्त्रमा आधारित उद्योग व्यवसाय, युवा उद्यमी, विद्यार्थी, पत्रकार, वातावरणविद, समाजसेवी लगायतको उपस्थिति छ । सम्मेलनमा विभिन्न शीर्षक अन्तर्गत ‘प्यानल’ छलफल समेत गरिने आयोजकले जनाएको छ । रासस

View : 342

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved