काठमाडौं । लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा हलुका सवारीसाधन सञ्चालनमा ल्याएको हो । लगातारको वर्षाका कारण सडक भासिएपछि गत असार २५ गतेदेखि माइखोला–राजदुवाली सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
असार २९ गतेसम्म आइपुग्दा सडक थप भासिएपछि मोटरसाइकलसहित सबै प्रकारका सवारीसाधन सञ्चालनमा समेत पूर्ण रोक लगाइएको थियो ।
सडक बन्द भएपछि इलामसहित पाँचथर र ताप्लेजुङको झापा तथा तराई क्षेत्रसँगको नियमित यातायात सम्पर्क प्रभावित हुँदै आएको थियो ।
मुख्य राजमार्ग लामो समय अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीको आवतजावत, यात्रु तथा व्यवसायीसमेत प्रभावित भएका थिए ।
करिब ५१ दिनदेखि बन्द रहेको सडक खुलाउन सडक डिभिजन कार्यालय इलामको टोली सफल भएको हो ।
सडक डिभिजन कार्यालयका प्रमुखसहितको प्राविधिक टोलीले सडक मर्मत तथा सवारी सञ्चालनयोग्य बनाउने काम गरिरहेको जनाइएको छ।
हाललाई सडकको अवस्था र जोखिमलाई ध्यानमा राख्दै साना तथा हलुका सवारीसाधन मात्र सञ्चालनमा ल्याईएको सडक डिभिजन इलामका सुचना अधिकारी अर्जुन घिमिरेले जानकारी दिए ।
माइखोला–राजदुवाली सडकखण्ड वर्षायाममा पटक–पटक भासिने समस्याबाट प्रभावित हुँदै आएको छ । यसपटक पनि लगातारको वर्षा र सडक भासिएपछि लामो समयसम्म राजमार्ग अवरुद्ध भएको हो ।
लामो समयदेखि सडक अवरोधका कारण सास्ती खेपिरहेका इलाम सहित पाचथर र ताप्लेजुङका यात्रु तथा स्थानीयवासीलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved