Biratnagar, Morang, Nepal
२१ वैशाख २०८२, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

हाम्रो इटहरीलाई भेट्रान गोल्डकपको उपाधि

उद्‌घोष सम्वाददाता
१३ माघ २०८१, आइतवार

सुनसरी । आयोजक हाम्रो इटहरी भेट्रान क्लबले पाँचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल पुगे पनि विराटनगरको टीडब्लू वाईसी भेट्रान क्लबले प्रोटेष्ट हारेपछि उपाधिको लागि प्रतिष्पर्धा गर्ने अवसर पाएको इटहरीले धनकुटाको हाम्रो राजारानी भेट्रान क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । 

अन्तिम सेमिफाइनलमा इटहरीलाई २–० गोल अन्तरले पराजित गरेको विराटनगरले एउटा खेलाडीको नाममा अर्को खेलाडी खेलाउनुका साथै ४० बर्षभन्दा कम उमेरको खेलाडी खेलाएको पुष्टी भएपछि उसलाई फाइनल खेल्नका लागि अयोग्य घोषित गरिएको थियो ।

इटहरीस्थित जनता बहुमुखी क्याम्पसको मैदानमा शनिबार सम्पन्न फाइनल खेलको निर्धारित समयमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेपछि समय अभावका कारण खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा इटहरीको तर्फबाट डेनिम राई, अनुप शेर्पा, हर्कराज गुरूङ र सुरेन्द्र तामाङले गोल गरे । राजारानीको तर्फबाट कृष्ण शाक्य, सचिन राई र भुपेन लिम्बूले मात्र गोल गर्न सके ।            

फाइनल खेलको उत्कृष्ट खेलाडीमा इटहरीका अतिरिक्त गोलरक्षक तुलसी श्रेष्ठ घोषित भए । उनलाई नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदीले नगद २ हजार १ सय रूपैयाँ र ट्रफी प्रदान गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजारानीका कृष्ण शाक्य घोषित हुँदै नगद ५ हजार पाए । राजारानीकै सचिन राई उत्कृष्ट अग्रपङ्तीका खेलाडी भए । 

इटहरीका सुनिल तामाङ उत्कृष्ट गोलरक्षक, दिवश राई उत्कृष्ट रक्षापङ्तीका खेलाडी, डेनिम राई उत्कृष्ट मध्यपङ्तीका खेलाडी र लिलाराम मगर उत्कृष्ट प्रशिक्षक भए । 

प्रतियोगिता अवधिभर समान ३–३ गोल गरेका राजारानीका कृष्ण शाक्य, सुजित राई र विराटनगरका गणेश लावती सर्वाधिक गोलकर्ता घोषित भए । बिधागतरूपमा उत्कृष्ट भएका सबै खेलाडीले जनही नगद ३ हजार ५ सय रूपैयाँ पाए ।

लगातार दोस्रो पटक उपाधि विजेता बनेको इटहरीले नगद १ लाख ११ हजार रूपैयाँ पुरस्कार पायो । उपबिजेता राजारानीले नगद ६१ हजार रूपैयाँ पाएको छ । बिजेता तथा उपबिजेता टोलीहरूलाई कोशी प्रदेश खेलकुद बिकास बोर्ड उपाध्यक्ष बिन्दिया कार्की, एन्फा सुनसरी अध्यक्ष नवीन राई लगायतले पुरस्कार प्रदान गरे ।

View : 179

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved