Biratnagar, Morang, Nepal
७ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

कोशी प्रदेश सरकारसँग किशोरीहरूको सम्वाद सम्पन्न

उद्‌घोष संवाददाता
७ असार २०८३, आइतवार

Advertisement

विराटनगर । कोशी प्रदेशका ५ जिल्लाका किशोरीहरुले प्रदेश सरकारसँग सम्वाद गरेका छन् ।

उदयपुर, सुनसरी, मोरङ, झापा र धनकुटा जिल्लाका ५० जना किशोरीहरूको सहभागिता रहेको ‘किशोरी नेतृत्व विकास तथा नीति संवाद’ सम्बन्धि दुई दिने कार्यक्रम आइतबार विराटनगरमा सम्पन्न भएको हो । 

महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुरको आयोजना तथा कोशी प्रदेश सभा सचिवालयको सहयोगमा आयोजित कार्यक्रममा किशोरीहरूको नेतृत्व क्षमता विकास गर्दै नीतिगत सवालमा उनीहरूको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने मुख्य उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रममा किशोरीहरूबीच कोशी प्रदेश सभाको गतिविधिसम्बन्धी भिडियो प्रदर्शन, प्रदेश सभाको काम, कर्तव्य र अधिकारबारे छलफल, उपसभामुखसँग अनुभव आदान–प्रदान तथा डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण गरिएको जनाइएको छ ।

सहभागी किशोरीहरूले आफ्नो अधिकार, सुरक्षा, स्वास्थ्य, शिक्षा तथा अर्थपूर्ण सहभागितासँग सम्बन्धित १३ बुँदे मागपत्र तयार गरी प्रदेश सभामार्फत प्रदेश सरकारलाई बुझाएका छन् । 

उक्त मागपत्रमा किशोरीमैत्री शौचालय, मानसिक स्वास्थ्य सेवा, बालविवाह तथा लैङ्गिक हिंसा न्यूनीकरण, नेतृत्व विकास, डिजिटल सुरक्षा, छात्रवृत्ति, गुणस्तरीय सेनेटरी प्याड, किशोरीमैत्री व्यवहार तथा अभिभावक–छोराछोरीबीच सकारात्मक संवाद अभिवृद्धि लगायतका विषय समावेश गरिएको जनाइएको छ ।

कार्यक्रमले किशोरीहरूलाई आफ्नो अधिकारका विषयमा सचेत बनाउनुका साथै नीति निर्माण प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुगेको सहभागी किशोरी बराहछेत्र नगरपालिकाकी कविता कोइरालाले बताइन् ।

महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुरकी कार्यकारी निर्देशक बन्दना दनुवारले किशोरीहरूले भोगिरहेका सवाल तथा चुनौतीहरूबारे जानकारी गराइन् । उनले समानता प्राप्तिका लागि एकीकृत अभियान अगाडि बढाउने सम्भावनाको खोजी गर्नुका साथै संरचनागत विभेदविरुद्ध आवाज उठाउन सक्षम नेतृत्व विकास गर्नुपर्ने बताइन् ।

किशोरीहरूले प्रदेश सभा तथा प्रदेश सरकारका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरे । उनीहरूले संवादका क्रममा किशोरीहरूको शिक्षा, स्वास्थ्य, अर्थपूर्ण सहभागिता र नेतृत्व, बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा तथा न्यायमा पहुँचजस्ता विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।

कोशी प्रदेश सभाका सभामुख माननीय अम्बरबहादुर विष्टले किशोरीहरूले उठाएका सवालहरूलाई सम्बोधन गर्दै समयको आवश्यकता र समाजमा देखिएका नया“ चुनौतीअनुसार आवश्यक कानुन निर्माण तथा परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । 

उनले किशोरीहरूको नेतृत्व विकास, अर्थपूर्ण सहभागिता तथा अधिकार सुनिश्चित गर्न कोशी प्रदेश सभा प्रतिबद्ध रहेको बताए ।

कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले प्रदेश सरकारले ‘सक्षम छोरी’ कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिंदै कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा उक्त कार्यक्रम संचालन गरिने बताए ।

कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले अपाङ्गता लक्षित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिंदै भौतिक विकाससँगै मानव विकासका कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरिन् । 

View : 24

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved