Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

लैंगिक हिंसा रोक्न परिवार संवाद कार्यक्रम

उद्घोष सम्वाददाता
२६ वैशाख २०८१, बुधवार

विराटनगर । विराटनगर महानगरपालिकाले लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम शुरु  गरेको छ ।

उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्तीबाट मंगलबार परिवार संवाद कार्यक्रम सुरु गरेको हो ।

सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले साझा सवालका लागि साझा मञ्च (कोकन)सँगको सहकार्यमा परिवार संवाद सञ्चालन गरिएको जनाएको छ ।

यसरी परिवार संवाद आयोजना गर्दा श्रीमान–श्रीमतीबीचको सम्बन्ध सुमधुर भई परिवारमा मिलन हुने उपमेयर कार्कीको भनाइ छ ।

पछिल्लो समय सामान्य विषयलाई लिएर पनि सम्बन्धविच्छेदका घटना बढ्दै जानुका साथै परिवारमा हिंसासमेत हुने गरेको पाइएको छ । यस्ता कार्यक्रमले लैंगिक हिंसा न्यूनीकरण हुनुका साथै परिवारमा हुने बेमेलसमेत कम हुने उपमेयर कार्कीले बताइन् । 

श्रीमान र श्रीमतीलाई बेग्लाबेग्लै राखेर सम्झाउनुका साथै दुबै जनाको दायित्वका विषयमा समेत जानकारी गराउने गरेको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिइन् । 

विराटनगर वडा नम्बर ८ मा ३५ जोडीलाई बेग्लाबेग्लै राखेर १० पटक कार्यक्रम सञ्चालन हुने कोकन मोरङका फिल्ड सुपरभाइजर अशोक थापा मगरले जानकारी दिए ।

त्यसपछि ३५ जोडीमध्येबाटै श्रीमान–श्रीमती दुबै जनासहित परिवारका अन्य दुई सदस्यलाई राखेर दुई चरणमा परिवार संवाद कार्यक्रम पनि सञ्चालन गरिने बताइएको छ ।

View : 59

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved