विराटनगर । यसपटकको विश्वकप फुटबल अन्तर्गत बुधबार बिहान अमेरिकाको कन्सास सिटी रंगशालामा खेलिएको अर्जेन्टिना र अल्जेरियाबीचको खेल फुटबल इतिहासकै एउटा सुनौलो र अविस्मरणीय क्षण बन्न पुगेको छ ।
विश्व फुटबलका हस्ती लिओनल मेसीको सनसनीपूर्ण ह्याट्रिक यो खेल अविस्मरणीय बन्ने कारण बन्न पुगेको छ ।
आफ्ना जादुमयी दुवै खुट्टाको बलमा सानदार प्रदर्शन गर्दै खेलमा ह्याट्रिक पूरा गरेर ३८ वर्षीय भेट्रान स्टार मेसी युवा खेलाडी निको पाजका लागि मैदान छाडेर बाहिरिँदै थिए, त्यसबेला झण्डै ७० हजार दर्शकले जुरुक्क उठेर उनका लागि सम्मान प्रकट गरे ।
मैदानबाट बाहिरिने क्रममा दर्शकदीर्घाबाट ओइरिएको त्यो अभूतपूर्व माया र सम्मान देख्दा सन् २०२२ मा कतार विश्वकप जितेर फुटबल जगतकै सर्वकालीन महान् खेलाडी बनिसकेका मेसी स्वयं पनि निकै भावुक र हषिर्त देखिन्थे ।
विश्वकपको यो संस्करण सुरु हुनुअघि अमेरिकी क्लब इन्टर मायमीबाट खेल्दा लागेको चोट र उनको बढ्दो उमेरका कारण फिटनेसलाई लिएर विश्वभरका करोडौं खेलप्रेमीहरूमा ठुलो चिन्ता र आशंका उब्जिएको भए पनि मेसीले बुधबारको खेलमा आफ्नो पुरानै ‘ट्रेडमार्क’ कौशल प्रदर्शन गर्दै ती सबै शंकाहरूलाई मैदानभित्रै ध्वस्त पारिदिए ।
खेलको सुरुवातदेखि नै अत्यन्तै आक्रामक र प्रभावशाली रूपमा प्रस्तुत भएका मेसीले चौथो मिनेटमै अल्जेरियाका गोलरक्षक लुका जिदानलाई बिट गर्दै बललाई जाली चुमाएका थिए ।
तर, भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड ठहर गरेपछि खेलले अर्कै मोड लियो ।
खेलका क्रममा विपक्षी रक्षक ऐस्सा मान्डीको कुर्कुच्चामा मेसीको जुत्ताको तल्लो भाग लाग्न पुग्दा फाउलको विषयमा केही विवाद र चर्चा भए पनि रेफ्रीले कुनै प्रकारको कार्ड प्रयोग गरेनन् ।
त्यसपछि खेलको १७ औं मिनेटमा फ्यानहरूले व्यग्रताका साथ पर्खिरहेको त्यो क्षण आयो, जब गोलपोस्टभन्दा करिब २५ यार्ड टाढाबाट मेसीले आफ्नो बायाँ खुट्टाको सानदार प्रहारमार्फत बललाई जाली चुमाइदिए ।
फ्रान्सेली लिजेन्ड जिनेदिन जिदानका छोरा लुका जिदानले रोक्ने कुनै मौका नै नपाउने गरी पोस्टको माथिल्लो कुनाको जालीमा छिराइदिए ।
खेलको ६०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको प्रहारलाई अल्जेरियन किपरले रोक्ने प्रयास गर्दा रिबाउन्ड भई फर्किएको बललाई मेसीले दायाँ खुट्टाले चलाखीपूर्वक गोलमा परिणत गरे र विश्वकपमा एकै खेलमा दुई गोल गर्ने इतिहासकै सबैभन्दा पाका खेलाडीको रूपमा आफ्नो नाम दर्ता गराए ।
त्यसको १६ मिनेटपछि अर्थात् खेलको ७६औं मिनेटमा वैकल्पिक खेलाडी निको गोन्जालेजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै मेसीले आफ्नो ह्याट्रिक पूरा गरे र दुवै हात फैलाएर आकाशतिर हेर्दै आफ्नो चिरपरिचित शैलीमा खुसियाली साटे ।
यो सानदार ह्याट्रिकसँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका लिजेन्ड मिरोस्लाभ क्लोजको विश्व कीर्तिमानलाई बराबरी गर्दै इतिहासको शीर्ष स्थानमा आफ्नो नाम सुरक्षित गरेका छन् ।
अब केवल एक गोल गरेमा उनी विश्वकप इतिहासकै एक्लो शीर्ष गोलकर्ता बन्नेछन् । सन् २००६ देखि २०२६ सम्म लगातार ६ वटा फरक विश्वकप संस्करण (२००६, २०१०, २०१४, २०१८, २०२२, २०२६) खेल्ने र विश्वकपमा रेकर्ड २० पटक टोलीको कप्तानी गर्ने विश्वकै पहिलो खेलाडी बनेका मेसीले ३८ वर्ष ३५७ दिनको उमेरमा ह्याट्रिक गर्दै क्रिस्टियानो रोनाल्डो (३३ वर्ष १३० दिन) को रेकर्ड तोडेका छन् ।
ब्राजिलका लिजेन्ड रोनाल्डो (१५ गोल) लाई पछि पार्दै दक्षिण अमेरिकाबाट विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत बनेका छन् मेसी ।
विश्वकपमा डिबक्स बाहिरबाट ६ गोल गर्दै ब्राजिलका रिभेलिनोको ५ गोलको कीर्तिमान भंग गरेका मेसीको सन् २००६ को पहिलो गोल र २०२६ को गोलबीच ठ्याक्कै २० वर्षको अन्तर छ ।
जसले उनको लामो र सक्रिय खेल जीवनलाई प्रमाणित गर्छ । साथै उनी आफ्नो किशोरावस्था, २० को दशक र ३० को दशक गरी तीनवटै उमेर समूहमा विश्वकपमा गोल गर्ने दुर्लभ खेलाडी समेत बनेका छन्, जुन रेकर्ड बनाउन ब्राजिलका पेले समेत चुकेका थिए ।
ऐतिहासिक खेलको समाप्तिपछि प्रतिक्रिया दिंदै अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले मेसी विगत २० वर्षदेखि फुटबल जगत र हरेक व्यक्तिका लागि प्रेरणाको स्रोत बनेको भन्दै उनको वर्णन गर्न आफूसग कुनै शब्द नै नभएको बताए ।
उता पराजित टोली अल्जेरियाका प्रशिक्षक ऐसा मान्डीले पनि मेसीलाई इतिहासकै सर्वश्रेष्ठ खेलाडी स्वीकार गर्दै उनलाई मैदानमा रोक्न असम्भव जस्तै रहेको र उनले पाएको हरेक अवसरलाई गोलमा बदलिदिएको भन्दै मेसीको खुलेर प्रशंसा गरे ।
यता विश्वभरका सञ्चारमाध्यमहरूमा कीर्तिमानको चर्चा भइरहदा स्वयं मेसीले भने आफू केवल मैदानमा खेलको मजा लिइरहेको र बाल्यकालमा सोचेभन्दा धेरै पाइसकेकाले अहिलेको यो सुखद अनुभव आफ्ना लागि एउटा अतिरिक्त ‘बोनस’ मात्र भएको बताएका छन् ।
विश्वकपका सुरुवाती संस्करणमा सोचेजस्तो प्रदर्शन गर्न नसकेका मेसीले पछिल्ला दुई संस्करणमा मात्र १० गोल थपेका छन्, जसअनुसार हालसम्म २७ खेल खेल्दै उनले सन् २००६ मा १ गोल, २०१४ मा ४ गोल, २०१८ मा १ गोल, २०२२ मा ७ गोल र जारी २०२६ को विश्वकपमा ३ गोलसहित कुल १६ गोल गरिसकेका छन् ।
View : 46
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved