Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूविको एकको ठाउँमा तीन प्रमुखको गृहकार्य

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कला, कानुन तथा शिक्षा संकायका कक्षाहरू सञ्चालन हुँदै आएको यस क्याम्पसमा अब तीन जना बेग्लाबेग्लै क्याम्पस प्रमुख (निर्देशक) राख्ने तयारी सुरु गरिएको छ।
उद्‌घोष संवाददाता
५ वैशाख २०८३, शनिवार

Advertisement

विराटनगर । विराटनगर–१, पुष्पलाल चोकस्थित जनता आदर्श बहुमुखी क्याम्पसको प्रशासनिक संरचनामा ठूलो फेरबदल हुने भएको छ।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कला, कानुन तथा शिक्षा संकायका कक्षाहरू सञ्चालन हुँदै आएको यस क्याम्पसमा अब तीन जना बेग्लाबेग्लै क्याम्पस प्रमुख (निर्देशक) राख्ने तयारी सुरु गरिएको छ।

स्थापनाकालदेखि नै जनसंख्या विकास केन्द्र (सीप्याड), कलेज अफ ल र शिक्षाशास्त्र संकायका लागि एक जना मात्र प्रमुखले नेतृत्व गर्दै आएकोमा हालका निर्देशक महेश निरौलाको कार्यकाल सकिएसँगै विश्वविद्यालयले संकायगत रूपमा नेतृत्व बाँडफाँट गर्न लागेको हो।

यद्यपि, शिक्षाशास्त्र संकायमा विद्यार्थी संख्या न्यून रहेका कारण तत्कालका लागि सो संकायमा प्रमुख नियुक्तिको प्रक्रियालाई थाती राखिएको बुझिएको छ।

स्रोतका अनुसार हाललाई अन्य दुई संकायका लागि दुई जना छुट्टाछुट्टै प्रमुख नियुक्त गर्ने गृहकार्य भइरहेको छ। यो नयाँ नियुक्ति प्रक्रिया पूर्वाञ्चल विश्वविद्यालयको आसन्न दीक्षान्त समारोह सम्पन्न हुनासाथ कार्यान्वयनमा आउने बताइएको छ।

यसैबीच, विश्वविद्यालयको दीक्षान्त समारोह आगामी मंगलबारका लागि तय गरिएको छ। करिब ७ हजार विद्यार्थी दीक्षित हुने सो समारोहमा दुई हजार एक सय विद्यार्थीहरूको प्रत्यक्ष उपस्थिति रहने जनाइएको छ।

समारोहलाई भव्य रूपमा सम्पन्न गर्नका लागि आइतबार दिउँसो मूल समितिको बैठकसमेत आह्वान गरिएको छ।

दीक्षान्त समारोहको समापनसँगै जनता क्याम्पसले पाउने नयाँ नेतृत्वले क्याम्पसको प्रशासनिक सुधार र संकायगत सुदृढीकरण गर्ने हो कि केवल आर्थिक भार मात्र बढाउने हो भन्नेबारे प्राज्ञिक वृत्तमा चर्चा र बहस सुरु भएको छ।

View : 317

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved