Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

झुम्का कारागारमा स्क्रप टाइफस, डेंगु र इन्फ्लूएन्जाको प्रकोप फैलिएको पुष्टि

प्रतिष्ठानको  प्रयोगशालाबाट कैदीहरुमा स्क्रपटाइफस, डेंगु र इन्फ्लूएन्जाको प्रकोप रहेको पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले जानकारी दिए ।  केही कैदी, बन्दीहरुमा जापानीज इन्सेफ्लाइटिसको आशंका गरिएपनि त्यसको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

सुनसरी । चार दिनको अवधिमा तीनजना कैदीको मृत्यु भएको सुनसरीको झुम्का कारागारमा बिभिन्न तीनवटा रोगको प्रकोप फैलिएको पुष्टि भएको छ । कैदीबन्दीमा बिभिन्न रोगको लक्षण देखिएपछि बुधबार कारागारमा स्वास्थ्य शिविर चलाइएको थियो । 

उक्त शिविरबाट ६३ जना कैदीबन्दीको नमुना संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो । 

प्रतिष्ठानको  प्रयोगशालाबाट कैदीहरुमा स्क्रपटाइफस, डेंगु र इन्फ्लूएन्जाको प्रकोप रहेको पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले जानकारी दिए । 

केही कैदी, बन्दीहरुमा जापानीज इन्सेफ्लाइटिसको आशंका गरिएपनि त्यसको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । 

चिकित्सकका अनुसार स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग  किर्नाजस्तो देखिने कीरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । 

यो रोग ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्दछ । यो जीवाणु मुसाको शरीरमा  पाइने माइट हुन्छ । सङ्क्रमित कीराले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्छ । 

यो रोग सङ्क्रमित कीराको टोकाइबाट मानिसमा सर्ने विराट शिक्षण अस्पतालका चिकित्सक डा. देवराज घिमिरेले जानकारी दिए । 

स्क्रब टाइफस भएको व्यक्तिले उपचार गर्न ढिलाई भए ज्यान जाने बढी खतरा हुने घिमिरेको भनाई छ । यस्तै, डेंगु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । 

इन्फ्लूएन्जा एक संक्रामक भाइरल संक्रमण हो, जसले श्वासप्रश्वासको रोग निम्त्याउँछ ।

सामान्यतया फ्लू भनेर चिनिने यो रोग माथिल्लो वा तल्लो श्वासप्रश्वास मार्गमा फैलिएर घाँटी, फोक्सो र नाकमा आक्रमण गर्न सक्ने चिकित्सक घिमिरेले बताए । 

घिमिरेले भने, इन्फ्लूएन्जा भाइरस संक्रमित व्यक्तिले हाच्छ्युँ गर्दा, कुरा गर्दा वा खोक्दा हावाको माध्यमबाट भाइरस सर्छ ।

कारागार प्रशासन तथा स्वास्थ्य परीक्षणकमा खटिएका चिकित्सकले भाइरल ज्वरोको आशंका गरेपनि यी तीनवटा रोगको प्रकोप फैलिएको पुष्टि भएपछि अब त्यही अनुसार परीक्षण तथा उपचार ब्यवस्था मिलाइने झुम्का कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिए ।

चार दिनको अवधिमा तीनजना कैदीको मृत्यु हुनुका साथै ३ सय बढी कैदी बिरामी भएपछि कारागारमा त्रास फैलिएको थियो । 

अहिले पनि केही कैदी, बन्दी बिभिन्न अस्पतालमा उपचारत छन् । 

१ हजार ६ सय क्षमता रहेको झुम्का कारागारमा ए र बी गरी दुबै ब्लकमा १ हजार ७ सय ९८ जना कैदीबन्दी छन् ।

View : 481

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved