Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

प्रमुख कर अधिकृत शाक्यलाई उद्योगी व्यवसायीले सुनाए कर प्रशासनका समस्या

उद्‌घोष संवाददाता
५ साउन २०८१, शनिवार

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भूपालराज शाक्यलाई कर प्रशासनका समस्याबारे विराटनगरका उद्योगी व्यवसायीहरूले जानकारी गराएका छन् ।

मोरङ उद्योग व्यापार संघले शुक्रबार आन्तरिक राजस्व कार्यालय विराटनगरमा सरुवा भएर आएका प्रमुख कर अधिकृत शाक्यलाई स्वागत गर्दै समस्याबारे ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष अनुपम राठीले घाटामा रहेका वासलात, ९–१० वर्ष पुरानो नन फाइलर फर्महरूका समस्या, भन्सार विन्दुमा लिइने अग्रीम आयकर, अनिवार्य अनलाइन बिलिङ, कर बिजकमा अनिवार्य एच.एस. कोड लगायत सरकारका केही पछिल्ला नीतिहरूबाट उद्योगी व्यवसायीहरूलाई परेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । सरकारले कर प्रशासनमा हरेक वर्ष नीतिहरू परिवर्तन गर्ने गरेका कारण त्यसको मार उद्योगी व्यवसायीहरू सहित सर्वसाधारणलाई पनि पर्ने गरेको उनले बताए ।

प्रमुख कर अधिकृत शाक्यले घाटा देखिने वासलात विभागले स्वीकार गर्ने गरेको जानकारी दिए । साथै कर बीजकको हकमा एच.एस. कोड अनिवार्य गरिएको स्पष्ट पारेका थिए । उनले उद्योगी व्यवसायीहरूले कर प्रशासन अन्तरगत भोगिरहेका अन्य समस्याहरू र केही सुझावहरूलाई आफूले पनि सकारात्मक रुपमा लिएको र केही विषयमा क्रमिक रुपले सुधार समेत भइरहेको जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ कोशी प्रदेशका अध्यक्ष तीर्थ यादव, राजश्व कार्यालयका सूचना अधिकृत हरि प्रसाद सेढाईं लगायत मोरङ उद्योग व्यापार संघ सम्वद्ध पदाधिकारी र सदस्य, विभिन्न वस्तुगत संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि, उद्योगी व्यवसायीहरू लगायतको उपस्थिति रहेको संघका महासचिव सञ्जय कुमार श्रेष्ठले जानकारी दिए ।

View : 270

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved