विराटनगर । भारतबाट अवैध रूपमा नेपाल भित्रिने मदिरा तराई हुँदै पहाडी तथा हिमाली बजारसम्म पुग्न थालेपछि नेपाली मदिरा उद्योगीहरूले चिन्ता व्यक्त गरेका छन् ।
एउटै ब्राण्डका मदिराको मूल्य नेपाल र भारतमा ठूलो अन्तर रहेकाले अवैध आयातको प्रवृत्ति बढेको उद्योगीहरूको गुनासो छ ।
नेपाल र भारतमा एकै ब्राण्डका मदिरा उत्पादन हुने भए पनि दुई देशमा त्यसको मूल्यमा ठूलो अन्तर रहेको उद्योगीहरू बताउँछन् ।
उदाहरणका लागि, ओल्ड मंक नामको मदिरा भारतमा ७५० एमएलको करिब भारु ५ सयमा पाइन्छ भने सोही ब्राण्डको नेपाली उत्पादनको मूल्य करिब भारु १ हजार ४ सय पर्छ ।
यसरी एउटै ब्राण्डको मदिराको मूल्यमा ठूलो अन्तर हुँदा भारतबाट अवैध रूपमा भित्रिने मदिरा तराईका सीमावर्ती बजार हुँदै पहाड र हिमाली क्षेत्रसम्म पुग्ने गरेको उद्योगीहरू बताउँछन् ।
खुला सीमा तथा नेपाल र भारतबीच मदिराको मूल्य र कर संरचनामा रहेको ठूलो अन्तरका कारण अवैध आयात नियन्त्रण चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ ।
केही दिनअघि लुम्बिनी प्रदेशको पाल्पामा प्रहरीले साढे सात लाख रुपैयाँभन्दा बढी मूल्यको भारतीय मदिरा बरामद गरेको घटनाले पनि भारतीय मदिरा सीमावर्ती क्षेत्रबाट पहाडी बजारसम्म पुगिरहेको देखाएको उद्योगीहरूको दाबी छ ।
केही दिनअघि पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित पैठेडाँडा चेकपोस्टमा प्रहरीले भारतको गोरखपुरबाट पोखरातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कार जाँच गर्दा ७५० एमएलका ६ सय २३ बोतल मदिरा बरामद गरेको थियो । बरामद मदिरामा ६ सय ११ बोतल ओल्ड मंक र १२ बोतल सिग्नेचर रहेको प्रहरीले जनाएको छ ।
ओल्ड मंक भारतको मोहन मिकिन लिमिटेडले उत्पादन गर्ने चर्चित रमको ब्राण्ड हो । नेपालमा भने यस ब्राण्डको उत्पादन फ्रेन्चाइजीअन्तर्गत सुनसरीको दुहवीस्थित प्रिमियम डिस्टिलरीले गर्दै आएको छ ।
नेपालमै उत्पादन हुने भए पनि भारतमा उत्पादित सोही ब्राण्डको मदिरा अवैध बाटोबाट नेपाल भित्रिएर नेपाली उत्पादनसँगै प्रतिस्पर्धा गर्नु उद्योगका लागि गम्भीर समस्या भएको प्रिमियम डिस्टिलरीका सञ्चालक प्रदीप सारडा बताउँछन् ।
‘नेपालमा मदिरा उत्पादन गर्दा अन्तःशुल्क र अन्य करको भार निकै ठूलो छ,’ सारडा भन्छन्, ‘हरेक वर्ष थपिने अन्तःशुल्कका कारण यहाँ उत्पादन हुने मदिरा भारतको तुलनामा महँगो पर्न जान्छ ।’
उनका अनुसार नेपालका केही मदिरा उद्योगले आफ्नै ब्राण्डका साथै विदेशी कम्पनीका चर्चित ब्राण्डको फ्रेन्चाइजी लिएर मदिरा उत्पादन गर्दै आएका छन् ।
मोरङको टंकिसिनवारीस्थित नेपाल लिकर्सले पनि विदेशी ब्राण्डअन्तर्गत सिग्नेचर नामको मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीले रातो र निलो बोतलमा सिग्नेचर ब्राण्डको मदिरा बजारमा पठाउँदै आएको छ ।
नेपालमा उत्पादन हुने सिग्नेचरकै नाममा भारतमा पनि मदिरा उत्पादन हुने भएकाले भारतीय बजारबाट भन्सार छलेर नेपाल भित्रिने सोही ब्राण्डको मदिराले नेपाली उत्पादनसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने गरेको उद्योगीहरूको भनाइ छ ।
भारतीय सिग्नेचरलगायत अन्य ब्राण्डका मदिरा भारतका विभिन्न राज्यमा उत्पादन हुने गरेका छन् ।
खुला सीमा र सीमावर्ती बजारबीचको सहज आवतजावतका कारण यस्ता मदिरा नेपाल भित्रिने गरेको उद्योगीहरू बताउँछन् ।
विशेषगरी बिहारमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध रहेकाले नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, पश्चिम बंगाल तथा अन्य राज्यबाट मदिरा नेपालतर्फ ओसारपसार हुने गरेको उद्योगीहरूको दाबी छ ।
यद्यपि, कुन राज्यबाट कति परिमाणमा मदिरा नेपाल भित्रिन्छ भन्ने आधिकारिक तथ्यांक भने उपलब्ध छैन ।
नेपालमा कानुनी रूपमा उत्पादन गर्ने उद्योगले कर तथा अन्य सरकारी दायित्व पूरा गर्नुपर्ने तर भारतबाट भन्सार छलेर आउने समान ब्राण्डका मदिराले त्यस्तो कुनै दायित्व पूरा नगर्ने भएकाले प्रतिस्पर्धा गर्न कठिन भएको सारडा बताउँछन् ।
अवैध मदिराको कारोबार बढ्दै गए स्वदेशी उद्योगको उत्पादन घट्ने, नयाँ लगानी निरुत्साहित हुने तथा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीसमेत प्रभावित हुने भएकाले सरकारले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ ।
सीमा नाकाबाट हुने अवैध मदिराको ओसारपसार नियन्त्रण गरेर मात्रै नपुग्ने बताउँदै सारडाले नेपालमा मदिरा उत्पादनमा लाग्ने अन्तःशुल्क तथा कर संरचनाको समेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए ।
नेपालमा उत्पादन हुने विदेशी ब्राण्डकै मदिरा भारतबाट अवैध रूपमा नेपाल भित्रिएर नेपाली उत्पादनसँग प्रतिस्पर्धा गर्ने अवस्था अन्त्य गर्न नसके त्यसको असर उद्योगमा मात्रै सीमित नरहने सारडा बताउँछन् । यसबाट सरकारको राजस्व र समग्र अर्थतन्त्रसमेत प्रभावित हुने उनको भनाइ छ ।
‘भन्सार छलेर भारतीय मदिरा नेपाल भित्रिंदा राज्यले भन्सार महसुल र अन्तःशुल्क मात्रै गुमाउँदैन,’ सारडा भन्छन्, ‘नेपालमा उत्पादन गर्ने उद्योगको कारोबार घट्दा त्यसबाट प्राप्त हुने करसमेत प्रभावित हुन्छ ।’
View : 60
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved