Biratnagar, Morang, Nepal
१ जेठ २०८२, बुधवार
+977 21 450305, 515728, 578305
समाज

नेपालबाट सर्पको विषको तस्करी

उद्‌घोष सम्वाददाता
१ जेठ २०८२, बुधवार

विराटनगर । नेपालबाट सर्पको विषको पनि तस्करी हुने गरेको पाइएको छ । 

६ दिनअघि मात्रै भारतको फारविसगञ्जस्थित सुभाष चोकबाट भारु दुई करोड मूल्य बराबरको दुुई किलो एक सय ५७ ग्राम सर्पको विष भारतको वन विभागले बरामद गरेपछि नेपालबाट हुने तस्करीको भेद खुलेको हो । 

समाचार स्रोतका अनुसार पटना र अररियाको वन विभाग टोलीले सुराकीको आधारमा सर्पको विषसहित ६ जना कारोबारीहरूलाई गिरफ्तार गरेको हो । 

पक्राउ पर्नेमा मोरङ घर बताउने शिवशंकर पासवानका साथै भारतीय नागरिक दीपककुमार झा, नीरजकुमार झा, आनन्दकुमार झा र विवेककुमार छन् । 

मेड इन फ्रान्स लेखिएको दुई जारमा बरामद विष नेपालबाट भारत पुर्‍याई बिक्री गर्न लाग्दा पक्राउ गरिएको बताइएको छ ।

भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएका बेला नेपालको बाटो भएर आतंकवादीहरूको भारतमा घुसपैठ नहोस् भनेर सीमा क्षेत्रमा कडाइ गरिएको छ । तर पनि तस्करहरूको धन्दा भने रोकिएको छैन । 

औषधि बनाउन प्रयोग गरिने सर्पको विषको मूल्य अन्तर्राष्ट्रिय बजारमा अत्यन्त धेरै छ । त्यसैले तस्करहरूले सर्पको विषको तस्करी गरेका हुन् । 

सीमा नाकामा जतिसुकै कडाइ गरे पनि खुल्ला सिमानाको नाजायज फाइदा तस्करहरूले उठाउने गरेका छन् । यतिबेला भारतबाट लागुऔषध खैरो हेरोइन नेपाल भित्रिने गरेको छ । 

तस्करहरूको बढी ध्यान मूल्यवान अवैध माल वस्तुमा जाने गरेको छ । त्यसमा पनि सर्पको विष दुर्लभ र बहुमूल्य मानिन्छ । नेपालबाट ठूलो परिमाणमा गाँजा भारततफ तस्करी हुने गरेको छ ।

केहि वर्षअघि करोडौंको मूल्य बराबरको विषालु सर्पको विषसहित  एक नेपाली नागरिक भारतमा पक्राउ परेका थिए ।

झापाको कांकडभिट्टा नाकाबाट भारतर्फ विषालु सर्पको विष तस्करी भइरहेको अवस्थामा भारतीय प्रहरीले उनलाई पक्राउ गरेकोे थियो ।

भारतको पश्चिम बङ्गालकोे पानीट्यांकी बजारबाट भारतीय एसएसबी ४१ बी बटालियनको टोलीले भारतीय ३५ करोड रुपैयाँ मूल्य बराबरको सर्पको विषसहित झापा बुद्धशान्ति गाउँपालिका–४ का ४९ वर्षीय बलबहादुर यावालाई पक्राउ गरेको थियो ।

उनले सिसाको ठुलो भाँडोभित्र राखेको सर्पको विष एसएसबीले बरामद गरेको थियो । 

नेपालबाट सर्पको विष भारततर्फ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा बलबहादुरमाथि शंका लागी जाच गर्दा सर्पको विष फेला परेको भारतीय प्रहरीले जनाएको थियो ।  उनले नेपालबाट सर्पको विष ल्याएको स्वीकारेका थिए ।

View : 45

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved