Biratnagar, Morang, Nepal
५ असार २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

नाला जाम र सडक क्षति रोक्न विराटनगर महानगरपालिकाको ७ बुँदे मापदण्ड अनिवार्य

उद्‌घोष संवाददाता
५ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाले घर तथा अन्य भवन निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधिका कारण नाला जाम, सडक क्षति तथा सरसफाइ व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण गर्न नया मापदण्ड लागू गरेको छ । 

अबदेखि घरनक्सा पास गर्ने प्रक्रियामा निर्माणकर्ताले सरसफाइसँग सम्बन्धित सात वटा अनिवार्य शर्त पालना गर्नुपर्ने भएको छ ।

महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाले जारी गरेको व्यवस्थाअनुसार निर्माण सामग्री सडक, नाला तथा पेटीमा राख्न पाइने छैन । 

साथै निर्माण सामग्री ढुवानीका क्रममा नाला जाम भए वा क्षति पुगेमा सम्बन्धित निर्माणकर्ताले आफ्नै खर्चमा सफाइ तथा मर्मत गर्नुपर्नेछ ।

निर्माणस्थलबाट निस्कने बालुवा, सिमेन्ट तथा माटो मिसिएको पानी नालामा बगाउन निषेध गरिएको छ । निर्माण कार्यका क्रममा मानवीय क्षति हुन नदिन आवश्यक सुरक्षा मापदण्ड अपनाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

महानगरले नक्सा पास प्रमाणपत्र जारी गर्नुअघि निर्माणस्थल आसपासका नालाको सफाइ, नाला ढक्कनको मर्मत तथा सडकमा भएको टुटफुटको व्यवस्थापन अनिवार्य गरेको छ । यी कार्य पूरा नभएसम्म अन्तिम नक्सा पास प्रमाणपत्र जारी नगरिने जनाइएको छ ।

त्यसैगरी महानगरका कर्मचारीले अनुगमनका क्रममा तोकिएका मापदण्ड पालना नगरेको भेटिएमा नियमानुसार जरिवाना गरिनेछ । 

निर्माणजन्य फोहोर सडक तथा सडक किनारमा जथाभावी थुपार्न पनि रोक लगाइएको छ ।

निर्माणकर्ताले यी सबै शर्त पालना गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको महानगरले जनाएको छ ।

View : 109

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved