Biratnagar, Morang, Nepal
२९ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

महेन्द्र मोरङमा नयाँ क्याम्पस प्रमुखको सरगर्मी

‘जान्नेलाई छान्ने’ नीतिपछि पुराना दलीय आबद्धता त्याग्दै ‘स्वतन्त्र’ बन्ने होड
उद्‌घोष संवाददाता
२८ असोज २०८३, बुधवार

फाइल तस्वीर

Advertisement

विराटनगर । त्रिभुवन विश्वविद्यालयको पूर्वी नेपालस्थित प्रमुख आङ्गिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नयाँ क्याम्पस प्रमुखको नियुक्तिलाई लिएर तीव्र राजनीतिक तथा प्राज्ञिक सरगर्मी सुरु भएको छ ।

वर्तमान क्याम्पस प्रमुख डा. रामावतार शरण उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेकाले आउँदो कात्तिक ९ गते क्याम्पस प्रशासन खुलेसँगै नयाँ नेतृत्व नआए प्रशासनिक रिक्तता निम्तिने अवस्था बनेको छ ।

विगत लामो समयदेखि महेन्द्र मोरङ क्याम्पसको नेतृत्व नेपाली कांग्रेसको ‘कोटा’ जस्तै बन्दै आएको थियो ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको सिफारिस र कांग्रेस निकट सहप्राध्यापक तहका व्यक्ति मात्र क्याम्पस प्रमुख बन्ने अघोषित परम्परा यस पटक भने फेरिने संकेत देखिएको छ ।

केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितको समीकरण र नयाँ नेतृत्वको आगमनपछि तय भएको ‘जान्नेलाई छान्ने’ नीतिले क्याम्पसभित्रको शक्ति समीकरण नै उथलपुथल बनाएको छ ।

दलीय भागबण्डाभन्दा बाहिर गएर स्वतन्त्र र उच्च प्राज्ञिक चरित्र भएका व्यक्तिलाई नेतृत्व दिने मापदण्डको चर्चा चल्न थालेपछि वर्षौँदेखि दलीय राजनीतिमा सक्रिय प्राध्यापकहरू रातारात ‘स्वतन्त्र’ छवि बनाउने कसरतमा जुटेका छन् ।

पहिले कांग्रेस, एमाले, माओवादी वा मधेसवादी दलनिकट प्राध्यापक संगठनमा बसेर लाभको पद लिएकादेखि अवसर नपाएकाहरूसम्म अहिले आफ्नो पुरानो दलीय ट्याग लुकाउँदै रास्वपाका शीर्ष नेता, सांसद, मन्त्री तथा मन्त्रीका सल्लाहकारहरूसँग लबिइङमा सक्रिय देखिएका छन् ।

यसअघि कम्तीमा सहप्राध्यापक हुनुपर्ने योग्यताको परम्परा रहेकोमा अहिले स्वतन्त्र छवि भएका उपप्राध्यापकहरू पनि दाबेदार हुन पाउने चर्चाले आकांक्षीहरूको सूची झनै लामो बनाएको छ ।

क्याम्पस प्रमुखको दौडमा प्राध्यापक तहबाट प्राडा अजय भट्टराई र प्राडा तिलक गौतम त्यस्तो आकांक्षी नदेखिए पनि  सहप्राध्यापक तहबाट डा सत्यनारायण साह र डा उद्धव पोखरेल आकांक्षी देखिएका छन् ।

यस्तै, उपप्राध्यापकहरू डा. सुशील अधिकारी, डा. रमेशकुमार गोहिभार, उमेश यादव, डा. शिवनारायण यादव, डा. डिल्ली पोखरेल, डा. सुजितकुमार साह, सीताराम चम्लागाईं, अर्जुन तामाङ, डा. अच्युतराज कट्टेल, रवि रोका, शिवनारायण चौधरी र डा. जनकनाथ सापकोटा, नन्द न्याैपाने, वेदप्रसाद संग्राैला, सञ्जय  ठाकुर समेत प्रमुखको दौडमा अग्रपंक्तिमा देखिएका छन् ।

क्याम्पस प्रमुखको दौडमा विराटनगरकै डिग्री क्याम्पसका पूर्व प्रमुख डा मनोज राउत र वर्तमान प्रमुख ढकबहादुर मगरको समेत नाम चर्चामा छ । 

विराटनगरको ऐतिहासिक शैक्षिक धरोहर महेन्द्र मोरङमा ‘जान्नेलाई छान्ने’ नीति साँच्चिकै प्राज्ञिक उत्कृष्टता र निष्पक्षतामा परिणत हुन्छ कि दलीय आवरण फेरेर शक्ति केन्द्र रिझाउने नयाँ प्रवृत्तिकै निरन्तरता बन्छ, त्यसको छिनोफानो कात्तिकको सुरुवाती साताभित्र हुने नियुक्तिले देखाउनेछ ।

View : 193

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved