विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सर उपचार नहुने तथा गुणस्तरीय उपचार नहुने भन्ने सामाजिक सञ्जालबाट भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ ।
प्रतिष्ठानले भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै भ्रामक जानकारीले जनमानसमा अविश्वास सिर्जना गर्ने प्रयास भएकोमा चिन्ता व्यक्त गरेको छ ।
प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले स्थापनाकालदेखि नै प्रतिष्ठानमा क्यान्सरका बिरामीको उपचार हुँदै आएको बताए ।
उनले करिब तीन दशकदेखि पूर्वी नेपालमा क्यान्सरसम्बन्धी शल्यक्रिया सेवा प्रदान गर्ने अग्रणी संस्थाको रूपमा प्रतिष्ठानले काम गरिरहेको जानकारी दिए ।
हाल क्यान्सर उपचारका लागि हुने शल्यक्रिया र सिस्टेमिक थेरापी (किमोथेरापी, हर्मोनल तथा टार्गेट थेरापी) सेवा नियमित रूपमा उपलब्ध भइरहेको बताए । प्रतिष्ठानमा निकट भविष्यमा रेडियोथेरापी सेवा पनि सञ्चालन गर्ने तयारी रहेको प्रवक्ता प्राडा श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अस्पताल आउन नसक्ने बिरामीका लागि घरमै उपचार सेवा, नियमित क्यान्सर स्क्रिनिङ कार्यक्रम, तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग सहकार्यमा उपचार भइरहेको जानकारी दिए ।
उनले गत आर्थिक वर्ष २०८१÷८२ मा प्रतिष्ठानले ३१७ जना क्यान्सर बिरामीको शल्यक्रिया, २ हजार ७२८ जनालाई बहिरङ्ग सिस्टेमिक थेरापी र ९२२ जनालाई अन्तरङ्ग सिस्टेमिक थेरापी सेवा दिएको बताए ।
प्रतिष्ठानले क्यान्सर उपचार नहुने भन्दै निहित स्वार्थ राखेर हुने यस्ता प्रचार र आरोपप्रति सचेत रहन आग्रह गरे । साथै, यस्ता गतिविधि नगर्न समेत चेतावनी दिइएको बताए ।
यसैबीच, प्रतिष्ठानभित्रका उपचार तथा अन्य कार्यका क्रममा आउने गुनासोलाई व्यवस्थापन गर्न ‘हेल्लो बीपीपेआईएचएस’ सेवा सुरू गरेको छ ।
प्रतिष्ठानलाई प्राप्त हुने सुझाव तथा गुनासाहरूलाई उक्त सेवामार्फत सुनुवाई गरिने प्रवक्ता प्राडा श्रेष्ठले जानकारी दिए ।
प्रतिष्ठानमा गठित सुझाव तथा गुनासो सुनुवाई समिति अन्तरगत कसैले पनि घरै बसीबसी पनि मोबाइल वा कम्प्यूटरका माध्यमबाट सुझाव तथा गुनासो दर्ता गर्न सक्ने जानकारी दिए ।
View : 97
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved