Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी तराईमा प्रकोपको रूप लिंदै बर्डफ्लू

पछिल्लो एक साताभित्र मोरङ, सुनसरी र झापामा मात्रै ६० हजारभन्दा बढी कुखुरा, लाखभन्दा बढी अण्डा नष्ट गरिएको छ ।
उद्‌घोष संवाददाता
११ चैत २०८२, बुधवार

विराटनगर । कोशी प्रदेशका तराईका तीन जिल्लामा कुखुरामा लाग्ने घातक संक्रामक रोग बर्डफ्लू तीव्र गतिमा  फैलिएको छ । 

केही दिन अघिसम्म सीमित ठाउँका कुखुरा फार्ममा सीमित संक्रमण अहिले मोरङ, सुनसरी र झापाका एक दर्जन फार्ममा फैलिएको छ । यसले हजारौं कुखुरा, लाखौंको संख्यामा अण्डा र कुखुराको दाना नष्ट गर्नुपर्ने अवस्था निम्तिएको छ । 

मोरङ, सुनसरी, झापा लगायतका जिल्लाहरूमा व्यावसायिक रूपमा ठूलो आकारमा कुखुरापालन हुँदै आएको छ । 

स्थानीय, लेयर्स र ब्रोइलर जातका कुखुरासहित यो क्षेत्रमा हाँसको पनि व्यावसायिक पालन हुने गरेको छ । 

एक सातायता हरेक दिनजसो एकपछि अर्को फार्ममा यो रोग संक्रमण देखिन थालेपछि कुखुरापालक किसानको चिन्ता बढेको छ । 

‘अहिलेसम्म मोरङ, सुनसरी र झापाका १२ वटा कुखुराफार्मका कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएको छ,’ कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालय बर्डफ्लु नियन्त्रण विभागकी सूचना अधिकारी डा. दिपा दिवालीले भनिन् ‘मंगलबारसम्ममा ६० हजारभन्दा बढी कुखुरा नष्ट गरिसकिएको छ ।’

डा. दियालीका अनुसार मंगलबार साँझसम्म मोरङका ६ वटा, सुनसरीका ५ र झापाको एउटा गरी १२ वटा कुखुराफार्मका कुखुरामा संक्रमण पुष्टि भएको छ । 

सरकारले रोग अन्यत्र फैलिन नदिन संक्रमित फार्मका कुखुरा नष्ट गर्दा कुखुरापालक किसानलाई क्षतिपूर्ति दिने गरेको छ । यद्यपि उत्पादन गरेर बजार पुर्याउदा जुन फाइदा हुन्छ त्यसबाट किसान वञ्चित भएका छन् । 

मोरङको विराटनगर, सुन्दरहरैंचा, उर्लाबारी र कटहरी क्षेत्रका विभिन्न कुखुरा फार्महरूमा संक्रमण पुष्टि भएको छ । 

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न वडासहित गढी गाउँपालिकामा रहेका फार्महरूमा पनि बर्ड फ्लु देखिएको छ । झापाको दमक क्षेत्रमा रहेको एउटा कृषि फार्ममा समेत संक्रमण पुष्टि भइसकेको छ । 

डा. दियालीका अनुसार संक्रमण नियन्त्रणका लागि तत्काल कुखुरा नष्ट गरिन्छ । जसअन्तर्गत संक्रमित फर्मका कुखुरा मात्र होइन, अण्डा, दाना र फर्मभित्र प्रयोग गरिएका सामग्री समेत नष्ट गरिन्छ ।

बर्ड फ्लुलाई एभियन इन्फ्लुएन्जा पनि भनिन्छ । यो मुख्यतः कुखुरा, हास, जस्ता पन्छीमा लाग्ने एक भाइरल रोग हो । 

यो इन्फ्लुएन्जा भाइरसको विशेष प्रकारबाट हुने संक्रमण हो, जसका केही स्ट्रेन अत्यन्तै घातक हुन्छन् । 

एच ५ एन १ जस्तो भाइरसले पन्छीमा तीव्र संक्रमण गराउने भएकाले छोटो समयमा ठूलो संख्यामा कुखुरा मर्न सक्छन् । यही कारणले यसलाई कुखुरा पालन क्षेत्रमा सबैभन्दा खतरनाक रोगमध्ये एक मानिन्छ ।

विज्ञहरूका अनुसार बर्डफ्लु अत्यन्त छिटो फैलिने रोग हो । 

संक्रमित कुखुरा वा पन्छीसँग प्रत्यक्ष सम्पर्क भएमा, तिनको सुली, थुक वा स्रावबाट, दूषित दाना, पानी वा उपकरण प्रयोग गर्दा, फार्मभित्र मानिसको आवतजावतबाट यो रोगको संक्रमण हुने गर्दछ । 

जंगली पन्छीहरूलाई पनि यसको वाहक मानिन्छ, जसले एक ठाउँबाट अर्को ठाउँमा रोग सार्न सहयोग गर्छन् । 

विज्ञहरूका अनुसार सामान्य अवस्थामा बर्डफ्लु मानिसमा सजिलै सर्दैन । तर, संक्रमित पन्छीसँग नजिक सम्पर्कमा रहने मानिसमा जोखिम रहन्छ । 

मानिसमा संक्रमण भएमा ज्वरो, खोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिन सक्छ । गम्भीर अवस्थामा यो प्राणघातक पनि हुन सक्छ, यद्यपि यस्तो घटना दुर्लभ मानिन्छ । 

बर्डफ्लु संक्रमण रोकथामका लागि सरकारी निकायहरूले किसानहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । 

त्यसका लागि कुखुरा फार्ममा बाहिरी मानिसको प्रवेश सीमित गर्ने, नियमित सरसफाइ र डिसइन्फेक्सन गर्ने, बिरामी वा मरेका कुखुराबारे  तुरून्त जानकारी दिन, सुरक्षा सामग्री मास्क, पञ्जा प्रयोग गर्न आग्रह गरेका छन् । 

कोशी प्रदेशमा बर्डफ्लुको फैलावटले कुखुरा उद्योगलाई ठूलो क्षति पुर्याउने संकेत देखिएको कुखुरापालक किसान बताउँछन् । 

‘यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने यसले किसानको लगानी मात्र होइन, स्थानीय बजार र खाद्य आपूर्तिमा समेत असर पार्ने देखिन्छ,’ कुखुरापालक संघ झापाका हरि तिम्सिनाले भने ‘यसका लागि सरकारी र समुदायको सक्रियता जरूरी छ ।’

View : 129

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved