सुनसरी । विद्यालय शिक्षामा पहुंच विस्तार गर्ने र मुस्लिम तथा विपन्न समुदायका बालबालिकाको विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यले सुनसरीको हरिनगर गाउँपालिकाले दुई विद्यालयलाई अनुदानमा स्कुल बस उपलब्ध गराएको छ ।
करिब १ करोड ३० लाख रुपैयाँको लगानीमा खरिद गरिएका दुई वटा ४३ सिट क्षमताका बस गाउँपालिकाले जामिअतुल इस्लाहा अल इस्लामिया मदरसा र हरिनगरा माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको हो ।
प्रत्येक बसको मूल्य करिब ६५ लाख रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ । स्थानीय तहले शैक्षिक पहुंच विस्तारका लागि गरेको यो लगानीलाई पूर्वाधार निर्माणभन्दा फरक, विद्यार्थीको नियमित उपस्थितिमा केन्द्रित कार्यक्रमका रूपमा हेरिएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले जानकारी दिए ।
भारतीय सीमासँग जोडिएको हरिनगर गाउँपालिका मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्र हो । यहाँका धेरै बस्ती विद्यालयबाट टाढा छन् भने आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले नियमित विद्यालय पुग्न कठिनाइ भोग्दै आएका छन् ।
वर्षायाममा सडकको अवस्था बिग्रिने र यातायातको सहज पहुँच नहुँदा विद्यालय छोड्ने जोखिमसमेत बढ्ने गरेको स्थानीय बताउँछन् ।
गाउँपालिका अध्यक्ष गफार अन्सारीले बस सञ्चालनपछि सीमावर्ती बस्तीका विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सहज हुने र विद्यालय शिक्षाप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार यसले विशेषगरी विपन्न परिवारका विद्यार्थीको नियमित उपस्थितिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
विद्यालय भवन निर्माण वा शैक्षिक सामग्री वितरणसँगै सुरक्षित यातायातको व्यवस्था पनि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने महत्वपूर्ण आधार भएकाले विशेषगरी ग्रामीण र सीमावर्ती क्षेत्रमा स्कुल बस सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सके विद्यालय छाड्ने दर घटाउन र विद्यार्थीको नियमित उपस्थितिमा सुधार ल्याउन सहयोग पुग्ने अध्यक्ष अन्सारीको भनाइ छ ।
बस खरिदसँगै यसको सञ्चालन, चालक तथा इन्धन खर्च, मर्मतसम्भार र दीर्घकालीन व्यवस्थापनलाई पनि समान प्राथमिकतामा राखेको अन्सारीले जानकारी दिए ।
View : 27
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved