Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

गोल्छा पक्राउपछि उद्योग संगठन मोरङले भन्यो– पहिले सुन्ने र गलत प्रमाणित भएमात्र थुन्ने नीति अपनाउ

उद्‌घोष संवाददाता
१० वैशाख २०८३, बिहिवार

विराटनगर । उद्योग संगठन मोरङले अनुसन्धानका नाममा उद्योगी–व्यवसायीहरूलाई दुःख दिइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका कार्यवाहक अध्यक्ष भोलेश्वर दुलालले “दोषी कोही उम्कनु हुँदैन, निर्दोषमाथि अन्याय हुन हुँदैन” भन्ने स्पष्ट धारणा राख्दै फौजदारी र वित्तीय अभियोगलाई समान प्रकृतिको अभियोगसरह नलिन सरकारलाई आग्रह गरेका छन् । 

उनले नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका उद्योगी शेखर गोल्छा पक्राउपछि बिहीबार साँझ विज्ञप्ति जारी गर्दै वित्तीय अभियोगका सन्दर्भमा “पहिला सुन्ने र अनुसन्धानबाट दोष प्रमाणित भएपछि मात्र थुन्ने नीति अवलम्बन गर्नुपर्छ” भन्ने प्रतिवद्धतालाई स्मरण गराएका छन् ।

वर्तमान सरकारले आर्थिक समृद्धि र राष्ट्रिय अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकालाई स्वीकार गरे पनि व्यवहारमा सुन्ने कामभन्दा पहिले नै थुन्ने नीति अपनाउँदा अन्योल र भयको वातावरण सिर्जना भएको उल्लेख गरिएको छ । साथै, दोष प्रमाणित नभई वित्तीय कसुरका आधारमा उद्योगी–व्यवसायीहरूलाई अनावश्यक रूपमा दुःख नदिन सरकारसँग आग्रह गरिएको छ ।

संगठनले राज्यका नीति तथा कानुनको परिधिभित्र रही व्यवसाय सञ्चालन गरिरहेका उद्योगी–व्यवसायीहरूलाई अनुसन्धान प्रक्रियामा समावेश गर्दा पहिला सुन्ने अनि दोष प्रमाणित भएपछि मात्र थुन्ने विधिसम्मत र न्यायसंगत सिद्धान्तको पूर्ण पालना गर्नुपर्ने धारणा राखेको हो ।

त्यसैगरी, वित्तीय प्रकृतिका अभियोगलाई थुना बाहिर राखेर अनुसन्धान गर्ने विधि अवलम्बन पनि सरकारसँग माग गरेको छ । 

‘निजी क्षेत्रलाई भयमुक्त वातावरणमा उद्योग–व्यवसाय सञ्चालन गर्न सहयोग गर्न सरकारसमक्ष अपिल गरिएको’ विज्ञप्तिमा जनाइएको छ ।

View : 480

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved