Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रहरीलाई निजी क्षेत्रले भन्यो- ‘अपराधीलाई जस्तो व्यवहार बन्द गर्नुस्’

उद्‌घोष संवाददाता
२० साउन २०८३, बुधवार

Advertisement

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीलाई त्रस्त तुल्याउने गरी देवेनरा समूहको घरमा भएको छापाप्रति निजी क्षेत्रले प्रहरीकै सामु आपत्ति प्रकट गर्दै ‘पहिले थुन्ने अनि मात्रै सुन्ने’ सरकारी शैलीप्रति तीव्र असहमति प्रकट गरेका छन् ।

सोमबार उद्योगी बेनीगोपाल मुन्दडाको घरमा छापा मारेको प्रहरीले केही फेला नपरेको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

लगत्तै निजी क्षेत्रका विभिन्न संघसंस्थाले आपत्ति प्रकट गर्दै विज्ञप्ति जारी गरेका थिए । सरकारको भनाइ र व्यवहारमा फरक देखिएको भन्दै निजी क्षेत्रले आतंक छाएको उल्लेख गरेको थियो ।

लगत्तै मंगलबार कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी शेखर खनालले निजी क्षेत्रका अगुवाहरुलाई छलफलका लागि बोलाएका थिए ।

छलफलका क्रममा निजी क्षेत्रका अगुवाहरुले औद्योगिक सुरक्षा, व्यवसायीको प्रतिष्ठादेखि लगानीको अवस्था निश्चित हुने बाटो यस्तो नहुने बताएका थिए ।

‘निजी क्षेत्र पछिल्लो समय एकदमै संशकित बनेको बेला छ, त्रस्त भएको बेला छ,’ नेपाल उद्योग वाणिज्य महासंघका कोशी अध्यक्ष राजेन्द्र राउतले छलफलमा भनेका थिए ‘अहिले पनि उद्योगी व्यवसायीलाई पहिला थुन्ने अनि मात्रै सुन्ने नीति अख्तियार हुनु दुःखद् छ । यसले निजी क्षेत्र हतोत्साही बन्न पुगेको छ ।’

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले दिएको जानकारी अनुसार छलफलमा डीआईजी खनालले मोरङ प्रहरीमा लिखित उजुरी परेपछि छापा मारिएको बताएका थिए । 

‘डीआईजी साबले किटानी उजुरी आएपछि रितपूर्वक छापा मारिएको हो, निजी क्षेत्रलाई तर्साउने हाम्रो नियमत होइन भन्नुभयो,’ घिमिरेले छलफलबारे जानकारी दिंदै भने ‘हामीले त्यसो भए गलत सूचना दिनेमाथि कारबाही गर्न भनेका छौं ।’ 

मंगलबार आयोजित छलफलमा डीआईजी खनाल र कोशी प्रदेशका विभिन्न उद्योगी व्यवसायी सम्वद्ध संस्थाका पदाधिकारी तथा उद्योगी–व्यवसायीहरूबीच छलफल हुँदा उद्योगीहरुले निजी क्षेत्रलाई शंकाको दृष्टिले मात्रै नहेर्न र अपराधीलाई जस्तो व्यवहार बन्द गर्न भनेका थिए । 

छलफलमा राउत, घिमिरेसहित उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङ अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघ अध्यक्ष अनुपम राठी, विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दल, परिसंघ वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, महासंघ उपाध्यक्ष राजन श्रेष्ठलगायत सहभागी थिए ।

कार्यक्रममा औद्योगिक क्षेत्रको सुरक्षा अवस्था, उद्योग सञ्चालनका क्रममा देखिएका सुरक्षा चुनौती, उद्योगी–व्यवसायी र नेपाल प्रहरीबीचको सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

छलफलका क्रममा उद्योगी–व्यवसायीहरूले औद्योगिक क्षेत्रका सुरक्षा सम्बन्धी आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए । 

प्रदेश प्रहरी प्रमुख खनालले उद्योग तथा व्यवसायको सुरक्षित वातावरण निर्माणका लागि प्रहरी सधैं प्रतिबद्ध रहेको बताउँदै निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ बनाइने धारणा व्यक्त गरेका थिए । 

कार्यक्रममा उद्योग तथा व्यवसायमैत्री सुरक्षा वातावरण सिर्जना गर्न नियमित संवाद, सूचना आदान–प्रदान र आपसी सहकार्यलाई निरन्तरता दिने विषयमा समेत जोड दिइएको थियो ।

यसअघि सोमबार बिहान पाँच बज्दा नबज्दै विराटनगर–७ गोश्वारा रोडमा रहेको विराटनगरको प्रतिष्ठित औद्योगिक घराना देवेनरा समूहका संस्थापक बेनीगोपाल मुन्दडाको घरमा छापा मारिएको थियो । बेनीगोपाल विराटनगरका एक प्रतिष्ठित उद्योगी र समाजसेवा क्षेत्रमा कहलिएका व्यक्ति हुन् ।

प्रहरीले उनको सामाजिक प्रतिष्ठाको कुनै ख्याल नराखी कुख्यात अपराधी पक्रन आएजस्तो सर्च अपरेसन चलायो । उनको घरभित्रका कोठा, दराज, कागजात राख्ने स्थानदेखि हरेक कुनासम्म झण्डै पाँच घण्टा गहन खानतलासी गरियो । 

आखिरमा पाँच घण्टासम्म चलेको खानतलासीपछि पनि प्रहरीले खोजेको भनिएको कुनै पनि गैरकानुनी सामग्री फेला परेन । 

प्रहरीले पाएको भनिएको ‘विशेष सूचना’ गलत साबित भयो । मोरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले विज्ञप्ति जारी गर्दै खानतलासीमा केही नभेटिएको बताएका थिए ।

मुन्दडा समूहले खाने तेल, साबुन, अगरबत्ती लगायतका उत्पादन गर्छ । यही समूहले नेपालकै ठूलो चाँदी उद्योग सञ्चालन गरिरहेको छ । 

यस्तो स्थापित उद्योग समूहको आवासमै प्रहरीको ठूलो घेराबन्दी भएपछि उद्योगी समुदायमा त्यसको सन्देश दूरगामी हुने निजी क्षेत्रका संघ संस्थाका अगुवाहरुको भनाइ छ ।

View : 26

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved