Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

जनता नमुना मावि पूर्व विद्यार्थीको देउसीभैलो

उद्‌घोष संवाददाता
२० कार्तिक २०८१, मङ्गलवार

विराटनगर । विराटनगर–२ शंकरपुर स्थित जनता नमुना माध्यमिक विद्यालयले तिहारको अवसरमा  देउसीभैलो खेल्दै बडादशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गरेको छ ।

पूर्व विद्यार्थी संघको आयोजनामा  शुक्रबार विद्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई स्वागत मन्तव्य व्यक्त गर्दैै पूर्व विद्यार्थी एवम् विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष मनोजविक्रम शाहले शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष शाहले परम्परादेखि मान्दै आएको हाम्रो संस्कृतिको जगेर्ना गर्न, विद्यालयलाई माया गर्नुहुने पूर्व विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी सबैलाई एकै ठाउँमा ल्याएर भावनात्मक सम्बन्ध स्थापित गरी जनता माविलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने उद्देश्यले  कार्यक्रमको आयोजना गरिएको बताए ।

सो  कार्यक्रममा विभिन्न तह र तप्कामा रहेर काम गरेका पूर्व विद्यार्थी, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायतको बाक्लो उपस्थिति थियो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवम् शिक्षाविद् गुणराज ढुंगेल, मीना जोशी, स्नातकोत्तर क्याम्पसका पूर्व प्रमुख डा. मनोज राउत, पवन सुराना, भरतबहादुर बस्नेतको पनि उपस्थिति  थियो । स्मरण रहोस्, यी सबै उच्च व्यक्तित्वहरु सोही विद्यालयबाट शिक्षा पूरा गरेका विद्यार्थी हुन् ।

कार्यक्रमको समापन गर्दै पूर्व विद्यार्थी संघका अध्यक्ष उमेशकुमार भगतले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका गरेको योगदानको विषयमा चर्चा गर्दै पूर्व विद्यार्थी संघले विद्यालयलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।

उनले आफूहरुबाट आशा गरेको नतिजाको लागि केही समय पर्खनुपर्ने भए पनि अहिले विद्यालयले राम्रो गति लिइरहेको र सोका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षकहरुले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्दै आएकोमा प्रशंसा समेत गर्नु गरे ।

यसैगरी उनले अहिले एसईईको नतिजा सुधार गर्ने उद्देश्यले आगामी एसईईमा सहभागी हुने कक्षा १० का विद्यार्थीको लागि कोचिङ कक्षा सञ्चालन गर्न पूर्व विद्यार्थी संघले विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको र आगामी एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विषय शिक्षकलाई प्रोत्साहन स्वरुप नगद पा“च हजार पुरस्कारसमेत दिने घोषणा गरे । 

पूर्व विद्यार्थी संघका महासचिव देवीप्रसाद पोखरेलको संयोजकत्वमा भएको सो कार्यक्रममा विद्यार्थीहरुले देउसीभैलो नृत्य प्रस्तुतीसँगै पूर्वविद्यार्थीहरुले समेत देउसीभैलो खेल्दै मनोरञ्जन गरेका थिए ।

View : 705

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved