Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मुनलाइट गर्ल्स होस्टलमा विद्यार्थीहरुमाथि दुर्व्यवहार प्रकरण

होस्टल सञ्चालिका रेग्मीलाई कारवाही गर्न स्ववियुको माग (विज्ञप्ति)

उद्घोष सम्वाददाता
३० फागुन २०८०, बुधवार

विराटनगर । होस्टलमा बसेका छात्राहरूमाथि दुर्व्यवहार गर्ने विराटनगर– ८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालिका मधु कटुवाल रेग्मीलाई कारवाही गर्न विद्यार्थीहरूले माग गरेका छन् ।

रेग्मीले मंगलबार साँझ विद्यार्थीहरू बसेको कोठामै प्रवेश गरेर उनीहरूलाई अपशब्द र दुर्व्यवहार गर्दै बलपूर्वक निकाल्ने प्रयास गरेकी थिइन् । उक्त घटनाको भिडियो बाहिरिएपछि छात्राहरू अध्ययनरत विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले प्रेस विज्ञप्तिमार्फत रेग्मीलाई कारवाहीको माग गरेको हो ।

विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष प्रशंसा पौडेल र सचिव एलिसा राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा होस्टल सञ्चालिका रेग्मीले विद्यार्थीहरूलाई अमानवीय व्यवहार गरेको भन्दै भर्त्सना गरिएको छ ।

क्याम्पसका विएनएस विएस्सी नर्सिङ प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू क्याम्पसको होस्टलमा पर्याप्त कोठाको व्यवस्थापन नहुन्जेलसम्मका लागि बाहिरी होस्टलमा बस्दै आइरहेकोमा होस्टल सञ्चालिका रेग्मीले चैत महिनाको रकम समेत अग्रिम रुपमा बुझाउन दवाव दिएकी थिइन् ।

‘क्याम्पसले चाँडै होस्टेलमा कोठाको व्यवस्थापन गरी विद्यार्थीहरूलाई स्थानान्तरण गर्ने सूचना प्रकाशन गरे बमोजिम विद्यार्थीहरूले चैत महिनाको रकम अग्रिम बुझाउन नसक्ने जानकारी गराएका थिए, तर होस्टेल संचालिकाले विद्यार्थीलाई डर, धम्की देखाउँदै चैत महिनाको अग्रिम रकम बुझाउन दबाब दिँदै गाली गलौज गर्ने, अपशब्द बोल्दै हातपात गर्ने र सरसामान बाहिर फाल्ने जस्ता अमानवीय व्यवहार गरेको भिडियोमा समेत प्रष्ट देखिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न स्थानदेखि अभिभावकबाट टाढा अध्ययन गर्न आएका विद्यार्थीहरू उक्त घटनाबाट त्रसित भई बेहोस समेत भएका थिए, यस्तो आपराधिक कार्यमा संलग्न होस्टेल संचालिकालाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न प्रशासन समक्ष जोडदार माग गर्दै दोषीलाई कारवाहीको दायरामा नल्याए स्ववियु प्रतिरोधमा उत्रने चेतावनी दिन चाहन्छौं ।’
होस्टल सञ्चालिका रेग्मीले विद्यार्थीहरूको कोठामै प्रवेश गरेर सिरक, तन्ना, ब्ल्याङ्केट, सिरानीका साथै पाठ्यपुस्तकहरू समेत फालिदिएकी थिइन् । उनले बलपूर्वक विद्यार्थीहरूलाई निकाल्ने प्रयास गरेकी थिइन् । 

पीडित विद्यार्थीहरूले होस्टललाई फागुन महिनासम्मको भाडा बुझाइसकेको बताएका छन् । तर सञ्चालिका रेग्मीले आफू काठमाडौं जानुपर्ने भएको भन्दै चैत महिनाको पनि पहिले नै पैसा मागेकी थिइन् । विद्यार्थीले पैसा दिन इन्कार गरेपछि उनले तत्कालै निस्किएर जान भन्दै विद्यार्थीहरूलाई हातपात गरेकी थिइन् ।

दुर्व्यवहारमा पर्ने विद्यार्थीहरू बुटवल र जुम्ला जिल्लाबाट नर्सिङ पढ्न आएका विद्यार्थीहरू भएको जनाइएको छ । विराटनगर शैक्षिक हबका रुपमा विकास हुँदै गएको अवस्थामा होस्टल सञ्चालिका नै संलग्न भएर दुर्व्यवहारको घटना हुनुले गलत सन्देश जाने तर्फ सचेत रहन पनि क्याम्पस प्रशासनले सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ ।

यसैबीच उक्त घटनामा संलग्न होस्टल सञ्चालिका रेग्मीलाई कारवाही गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङले समेत आग्रह गरेको छ । अनेरास्ववियुका अध्यक्ष तुलसी घिमिरे र सचिव विरेन्द्र घिमिरेले विज्ञप्तिमार्फत कारवाहीको माग गरेका छन् । 
अध्ययनका लागि टाढाबाट विराटनगर आएका विद्यार्थीहरूलाई सञ्चालिका रेग्मीले दुर्व्यवहार गरेको भन्दै दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेको छ ।

View : 163

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved