Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

मोरङ कारागारको फोहर सडक किनारमा

उद्घोष सम्वाददाता
४ वैशाख २०८१, मङ्गलवार

सडक किनारको फोहर र सोमबार फोहर उठाउँदै महानगरका सफाइ कामदार । तस्वीर: उद्घोष

विराटनगर । मोरङ कारागार विराटनगर भित्रबाट निस्कने फोहर सडकमै राखिने गरिएकाले स्थानीय तथा सडक यात्रीलाई दुर्गन्धले समस्या हुने गरेको पाइएको छ । 

एक हजार जनाको हाराहारीमा कैदीबन्दी रहेको कारागार भित्रबाट दैनिक निस्कने फोहर गेट बाहिर सडक किनारमा थुपारिने गरिन्छ । चैत ३० देखि वैशाख ३ गतेसम्म थुपारिएको फोहरको गन्धले आसपासमा घर भएका र सडक प्रयोगकर्तालाई नाक थुनेर हिंड्न बाध्य पार्यो । नयाँ वर्षका दिनदेखि ३ गतेसम्म हुलाकी मार्गमा कारागार गेट अगाडि हिंड्नै नसकिने अवस्था थियो ।

कारागारअगाडि घर भएकी विराटनगर महानगरपालिका–८ की वडा सदस्य गीता विश्वकर्मालाई दुर्गन्धका कारण झ्यालढोका बन्द गरेर घरभित्र बस्नुपर्ने बाध्यता आयो ।

उनी मात्रै हैन आसपासका घरका मानिस भान्सामा गन्धको समस्याले सुत्ने कोठामा गएर खाना खान बाध्य भएका छन् । स्थानीय युवाहरूले सडक किनारको फोहर कारागार कम्पाउण्ड भित्रै फालिदिने योजना समेत बनाएका छन् । 

कारागार भित्र काटिने रांगा, बंगुर, खसी, कुखुराको लादी पनि त्यही फोहरमा राखिएकाले दुर्गन्धले दिमागसम्म असर गर्ने खालको थियो ।

‘कारागार विराटनगर–८ नम्बर वडामा पर्ने भएकाले फोहरबारे हामीले गुनासो गर्दा अर्को वडाको भनेर बेवास्ता गरियो’ वडा सदस्य गीताका श्रीमान् कमल खातीले भने । फोहरको दुर्गन्धसँगै झिंगा फैलिएकाले घरको बार्दलीमा बस्न नै समस्या हुने गरेको बताए ।

कारागारभित्रबाट सडक किनारमा थुपारिएको फोहर सोमबार पाँचौ दिनमा उठाइए पनि कुहिएको गन्ध हटेको छैन ।

विराटनगर–८ का वडाध्यक्ष राम पोखरेल कारागारलाई फोहर बाहिर नराख्न पटक–पटक आग्रह गर्दा पनि नमानेको बताउँछन् ।

‘कारागार सरकारी निकाय भएकाले हामीले भनेको वास्ता गरेका छैनन्, फोहरको समस्याको गुनासो थामी नसक्नु भएकाले नगरपालिकालाई भनेर सोमबार उठाउन लगाइयो’ पोखरेलले भने ।

मोरङ कारागारबाट निस्कने फोहर कम्पाउण्ड भित्रै जलाउने र गाड्ने गरिदै आएको थियो । जेलर कृष्णहरि न्यौपानेका अनुसार हालसालैदेखि फोहर लैजान मासिक ५ हजार रुपैयाँ तिरेर कारागार सदस्य बनेको छ ।

नयाँ वर्षको समयमा बढी फोहर भएको र कम्पाउण्ड भित्र फोहर राख्ने ठाउँ नभएकाले बाहिर सडक किनारमा थुपार्नुपर्ने अवस्था आएको उनले बताए ।

निर्माणाधीन कम्पाउण्ड भित्र फोहर उठाउने ट्याक्टर लैजाँदा सुरक्षामा समस्या हुने उनको तर्क छ ।

तर वडाध्यक्ष पोखरेलले भने कारागारलाई फोहर राख्ने डब्बा दिएर भए पनि कम्पाउण्ड भित्रै संकलन गरेर राख्ने र महानगरको ट्याक्टरले उठाउने ब्यवस्थापन गर्न लागिएको बताएका छन् ।

महानगरको सरसफाइ ब्यवस्थापन महाशाखाका सुपरभाइजर किरण न्यौपाने फोहरमा समस्या हुनुमा कारागारकै कमजोरी भएको बताउँछन् । सडक किनारमा फोहर नफाल्न भनिए पनि कारागारले नमानेको उनले जानकारी दिए ।

View : 332

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved