सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–३ स्थित गच्छिया युवा समाजले आयोजना गरेको अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप २०८२ को आय–व्यय सार्वजनिक गरेको छ ।
शनिबार गछियामा आयोजित कार्यक्रममा प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गरिएको हो ।
आयोजकका अनुसार विभिन्न संघसंस्था, शिक्षा साझेदार, प्रायोजक, स्थानीय निकाय, टिकट बिक्री तथा सिजनल पासमार्फत ५० लाख २५ हजार ३ सय ३८ रुपैयाँ आम्दानी भएको छ ।
प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा ४२ लाख ५७ हजार ३ सय ७० रुपैयाँ खर्च भएको तथा ७ लाख ६ हजार रुपैया उठ्न बाँकी रहेको जानकारी दिइयो ।
कार्यक्रममा बोल्दै खेल संयोजक प्रह्लाद थोप्राले पहिलो संस्करण अपेक्षाभन्दा सफल भएको बताए ।
स्थानीय खेलप्रेमी, सहयोगी संस्था, प्रायोजक, स्थानीय तह, व्यवसायी तथा दर्शकको साथले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको उनले उल्लेख गरे ।
गच्छिया युवा समाजका अध्यक्ष सरोज दाहालले गोल्डकपले गच्छियाको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
गत मंसिर १५ गतेदेखि सञ्चालन भएको गोल्डकपले स्थानीयस्तरमा मात्रै नभई प्रदेशकै खेलकुद वृत्तमा चर्चा बटुलेको थियो ।
आयोजकले आगामी संस्करणमा थप विदेशी टोली सहभागी गराउने, पुरस्कार राशि वृद्धि गर्ने तथा दर्शकमैत्री व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको जनाएको छ ।
View : 159
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved