विराटनगर । विराटनगर–हाटखोला–कटहरी हुलाकी राजमार्ग खण्ड तत्काल निर्माण सम्पन्न गर्न नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले सरकारसँग माग गरेको छ ।
कटहरी क्षेत्रमा रहेका उद्योगहरूले भोग्दै आएको समस्या समाधानका लागि परिसंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमक्ष ध्यानाकर्षणपत्र पठाउँदै सडक निर्माणको काम युद्धस्तरमा अघि बढाउन आग्रह गरेको हो ।
परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडाले हस्ताक्षर गरेको पत्रमा करिब ६–७ किलोमिटर लामो हाटखोला–कटहरी सडकखण्ड वर्षौंदेखि अलपत्र अवस्थामा रहँदा उद्योग, व्यवसाय तथा सर्वसाधारणले गम्भीर समस्या भोग्नुपरेको उल्लेख गरिएको छ ।
२०७६ सालमा ठेक्का सम्झौता भए पनि सडक निर्माणले अपेक्षित गति लिन नसकेको भन्दै परिसंघले विगतमा स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट पटक पटक गरिएका लिखित प्रतिबद्धतासमेत कार्यान्वयन नभएको जनाएको छ ।
सडकको जीर्ण अवस्थाविरुद्ध उद्योगी तथा स्थानीयले पटक पटक शान्तिपूर्ण आन्दोलन र विरोध प्रदर्शन गरेपनि समस्या समाधान हुन नसकेको परिसंघको भनाइ छ ।
सडकमा ठूला–ठूला खाल्डा र दलदल बनेका कारण औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु बोकेका ट्रक र कन्टेनर पल्टिने गरेको परिसंघले जनाएको छ । यसबाट लाखौं रुपैयाँ बराबरका औद्योगिक सामग्री नष्ट हुनुका साथै सवारी दुर्घटनाका कारण राजमार्ग घण्टौं अवरुद्ध हुने गरेको पत्रमा उल्लेख छ ।
सडकको दयनीय अवस्थाका कारण ढुवानी लागत बढेको, सामान समयमै बजारसम्म पुर्याउन नसकिएको र उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत समस्या आएको परिसंघले जनाएको छ ।
अवस्था अझै बिग्रिंदै गए कटहरी क्षेत्रका उद्योग सञ्चालनमै कठिनाइ उत्पन्न भई औद्योगिक गतिविधि नै प्रभावित हुने चेतावनीसमेत दिइएको छ ।
परिसंघका अनुसार कटहरी औद्योगिक करिडोरमा दुई दर्जनभन्दा बढी ठूला उद्योगसहित थुप्रै साना तथा मझौला उद्योग सञ्चालनमा छन् । सडकको अवस्थाले यी उद्योगको उत्पादकत्व, रोजगारी र राजस्व संकलनमा समेत प्रत्यक्ष असर पारिरहेको जनाएको छ ।
सडकका कारण उद्योगी व्यवसायी मात्र नभई स्थानीय बासिन्दा र विद्यार्थीसमेत प्रभावित भएको परिसंघले जनाएको छ । हिउँदमा अत्यधिक धुलो र वर्षायाममा हिलो तथा पानी जम्ने समस्याका कारण सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको पत्रमा उल्लेख छ ।
परिसंघले विराटनगर–कटहरी जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सिंघिया नदीको पुलको अवस्थाप्रति समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
करिब ५० वर्ष पुरानो उक्त पुल जीर्ण भइसकेको र हाल एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको जनाउँदै परिसंघले ठूला मालवाहक गाडीको भार धान्न सक्ने अवस्था नरहेको जनाएको छ ।
पुल जुनसुकै बेला क्षतिग्रस्त हुन सक्ने जोखिम रहेको भन्दै तत्काल प्राविधिक निरीक्षण गरी सुदृढीकरण तथा नयाँ पुल निर्माणको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
वर्षायाममा नदीको बहाव बढ्ने भएकाले सम्भावित दुर्घटना तथा यातायात अवरोध रोक्न तत्काल वैकल्पिक डाइभर्सन वा बेलीब्रिजको व्यवस्था गर्नसमेत परिसंघले आग्रह गरेको छ ।
परिसंघले हाटखोला–कटहरी सडकखण्डलाई मोरङ–सुनसरी औद्योगिक क्षेत्रको ‘लाइफलाइन’ को संज्ञा दिंदै सडक तथा पुलको समस्या तत्काल समाधान नभए उद्योगको कच्चा पदार्थ र तयारी वस्तुको ढुवानी प्रभावित भई स्थानीय रोजगारीदेखि राष्ट्रिय अर्थतन्त्रसम्ममा असर पर्ने जनाएको छ ।
सीएनआई कोशी प्रदेशले विगतका प्रतिबद्धता तत्काल कार्यान्वयन गर्दै हाटखोला–कटहरी सडक निर्माणलाई उच्च प्राथमिकतामा राखेर सम्पन्न गर्न र औद्योगिक क्षेत्रको आवागमन सहज बनाउन सरकारसँग आग्रह गरेको छ ।
View : 34
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved