विराटनगर । कानुन व्यवसायी, साजिलाल माध्यमिक विद्यालय, सुन्दरहरैंचाका पूर्व प्रधानाध्यापक एवं शिक्षक संगठन मोरङका पूर्व अध्यक्ष अधिवक्ता एकराज भट्टराईलाई पितृशोक परेको छ ।
उनका पिता एवं विराटनगर–७, सरस्वती टोलका वयोवृद्ध व्यक्तित्व तथा सामाजिक अभियन्ता रामप्रसाद भट्टराईको १०१ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि सामाजिक सेवा र कानुनको क्षेत्रमा सक्रिय भट्टराईको शनिबार राति आफ्नै निवासमा निधन भएको हो ।
स्वर्गीय भट्टराई मोरङ बार एसोसिएसनका संस्थापक सदस्य हुनुका साथै पूर्व उपाध्यक्षसमेत थिए । उनको निधनले मोरङ बार एसोसिएसनले एक अभिभावक गुमाएको बारका कार्यालय सचिव कमल भट्टले बताए ।
स्वर्गीय भट्टराईको योगदानलाई स्मरण गर्दै प्राध्यापक कृष्ण पोखरेलले उनलाई एक युगकै प्रेरणादायी अभिभावकका रूपमा व्याख्या गरेका छन् ।
प्राध्यापक पोखरेलले भन्छन् , "कानुन व्यवसायीका रूपमा उहाँ सदैव गरीब र असहायको पक्षमा निःशुल्क कानुनी सहायताका लागि अग्रसर हुनुहुन्थ्यो ।
विराटनगरको प्रसिद्ध सरस्वती मन्दिर निर्माणका लागि उहाँले घर–घरबाट ‘मुठ्ठीदान’ अभियान चलाउनुभएको थियो भने सरस्वती टोलको चौडा सडक निर्माणका लागि उहाँ स्वयं कोदालो बोकेर सडकमा खटिनुभएको थियो ।
यसका साथै सिंघिया नदी किनारमा वृक्षारोपण गरी हरियाली बस्ती बसाउन तथा दशैं–तिहारमा टोलका बालबालिकाका लागि लिङ्गे पिङ ठड्याउने कार्यमा पनि उहाँ सधैं अग्रपङ्क्तिमा रहनुहुन्थ्यो ।”
पारिवारिक स्रोतका अनुसार, स्वर्गीय भट्टराईको अन्तिम संस्कार उहाँका माइला छोरा डा. युवराज भट्टराई स्वदेश फर्किएपछि गरिनेछ ।
स्वर्गीय भट्टराईको पार्थिव शरीरको दाहसंस्कार भोलि मंगलबार दिउँसो २ बजे विराटनगर–७, हाटखोलास्थित परमविश्रान्ति घाटमा गरिने कार्यक्रम तय भएको छ ।
View : 81
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved