Biratnagar, Morang, Nepal
३० साउन २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, केहीमा रात्रीकालीन आवागमन रोक

उद्‌घोष संवाददाता
३० साउन २०८३, शनिवार

Advertisement

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा सडक कटान हुँदा प्रमुख राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका सडकमा सवारी आवागमन प्रभावित भएको छ ।

प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्डमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ ।

यसैगरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भूक्षय तथा पहिरोका कारण घोराही–थबाङ सहिद मार्गका दुई स्थान अवरुद्ध भएका छन् ।

अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही सडकमा निश्चित समयका लागि सवारी आवागमनमा रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षाका कारण सडकमा बाढी, पहिरो तथा सडक कटानको जोखिम रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

View : 39

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved